बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सम्झौता सकियो, मुद्दा सकिएन

सम्झौता सकियो, मुद्दा सकिएन


  • ढोरपाटन संबाददाता
  • भाद्र ३१ २०७८, बिहिबार

‘मुद्दा यति लामो हुने रहेछ, अझै फैसला पनि भएको छैन, हामीले गरेको काम नराम्रो थियो भनेर कसैले भन्न पनि सकेको छैन । मुद्दा अदालतमा गएपनि यो स्वार्थ र हैकमसँग जोडिएको थियो ।’

बागलुङ/ झण्डै ६ वर्षअघि बागलुङ नगरपालिकासँग सम्झौता गरेर फोहोर उठाएको यहाँको एक सहकारीको सम्झौता नगरपालिकाले एकतर्फी तोडेपछिको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दा कहिले टुंगो लाग्छ ? अधिवक्तालाई समेत थाहा छैन ।

मुद्दाको छिनोफानो समयमै किनारा नलाग्दा धौलागिरि फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको सम्झौता म्याद सकिइसकेको छ । ‘म्याद सकिएकोले अब अदालतले कुनै निर्णय गरेपनि औचित्य समाप्त हुन्छ,’ अधिवक्ता भूमिश्वर गौतमले भने, ‘लाखौं नोक्सानी व्यहोरेको सहकारीले अब काम पाउने सम्भावना पनि टरेको छ ।’ बागलुङ नगरपालिकाले फोहोर मैला व्यवस्थापन शाखा स्थापना गरेर शुल्कसमेत उठाउन थालिसकेको छ ।

डेढ वर्षअघि नगरपालिकाले सहकारीको सम्झौता एकतर्फी तोडेको थियो । नगरपालिकाले बेरुजु रकम फिर्ता नगरेको आरोप लगाएर सहकारीसँगको सम्झौता तोडेको लेखा शाखाको सूचना छ । सहकारीले पनि बागलुङ बजारमा राखेको काउन्टर हटाइसकेको छ ।
सहकारी संस्थाका अध्यक्ष सुधीर श्रेष्ठले पनि कामबाट सहकारीलाई ठूलो नोक्सानी परेको बताए । साथै, उनले सम्झौता अवधिमा तिरेको घरभाडा, कर्मचारीलाई बिना कारण बिदाइ गर्नु परेको कारणले नगरपालिका र उपभोक्तासँग सम्बन्ध चिसिएको गुनासो गरे ।

‘मुद्दा यति लामो हुने रहेछ, अझै फैसला पनि भएको छैन, हामीले गरेको काम नराम्रो थियो भनेर कसैले भन्न पनि सकेको छैन,’ उनले भने, ‘मुद्दा अदालतमा गएपनि यो स्वार्थ र हैकमसँग जोडिएको थियो ।’ नगरपालिकाले फोहोर मैला व्यवसस्थापनका लागि गर्नुपर्ने धेरै काम नगरेर उपभोक्तालाई मात्र दुःख दिएको उनले टिप्पणी गरे ।

फोहोरको व्यवस्थापन गर्ने नगरपालिकाले पनि व्यवस्थापन भने गर्न सकेको छैन । बागलुङ १, खुतुर्केमा फाल्ने फोहोरले दुर्गन्ध फैलिएको आरोप लाग्ने गरेको छ । ‘कालीगण्डकी करिडोरमै दुर्गन्ध छ, उचित व्यवस्थापन गर्न सकेन,’ बलेवास्थित वडा नंं १३ का कृष्ण शर्माले भने, ‘घर पुग्दासम्म फोहोरका झिंगा पुग्ने गरेका छन् ।’ फोहोर पोल्दा लगाउने आगोले बागलुङ कालिका मन्दिरसम्म दुर्गन्ध आउने गरेको छ । त्यस क्षेत्र वरपर हरेक वर्ष लाग्ने आगलागीमा पनि फोहोर व्यवस्थापनको कमजोरीले भएको टिप्पणी हुने गरेको छ । फोहोर पोल्दाको आगोले कालिका मन्दिरसम्मको जंगलमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

नगरपालिकाकै न्यायिक समितिले हेरेको खानेपानीको मुद्दा पनि अझै फैसला भएको छैन । डेढ वर्षअघिदेखिको यो मुद्दामा पनि समितिले निर्णय दिन नसकेको हो । नगरपालिकाले फोहोर पानी खुवाएको, मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्ने मुद्दा समितिमै रोकिएको हो । ‘प्रशासनले पनि चासो राखेर खोजी गरेको हो, तर फैसला भएको छैन,’ समितिका एक कर्मचारीले भने, ‘स्थानीय सरकार सञ्चालन ऐनले पनि हामीलाई समेत ढिला बनायो ।’

छिटो मुद्दा किनारा लागोस् भनेर बनाएको समितिमा समेत प्रक्रियागत झन्झट र वकिलले पेशी सार्ने, म्याद थप्ने लगायतको प्रावधानले ढिला भएको उपप्रमुख सुरेन्द्र खड्काले बताए । नगरपालिकाले गर्ने भनेको ढल निकास कार्यक्रम पनि अझै सुरु हुने अवस्थामा छैन । डिजाइनमै त्रुटि भएपछि फिर्ता भएको डिपिआर पनि बनेर नआएको हो । ३ वर्ष अघिदेखि सुरु भएर पनि ढल निकासको क्षेत्रमा शून्य प्रगति भएको हो । नगरभित्रका अन्य धेरै कार्यक्रम र मुद्दा पनि वर्षौंदेखि अलपत्र छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->