बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘वन पैदावारको उपयोग सहज बनाउ’

‘वन पैदावारको उपयोग सहज बनाउ’


  • ढोरपाटन संबाददाता
  • असोज १ २०७८, शुक्रबार

बागलुङ/ वन पैदावारको उपयोगका लागि कानुनी जटिलता मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् । आफ्नै बारीमा रहेको रुख कुहिएर जाँदा विदेशी काठ आयात गरेर उपभोग गर्नुपरेको तितो यथार्थ नेपालीका सामु रहेको उनीहरुको तर्क छ ।

‘नेपालमा बर्षेनि १६ हजार क्युफिट काठ उत्पादन गर्न सकिन्छ, १० हजार क्युफिट काठ आवश्यकता छ तर हाम्रो वनको प्रयोगबाट उपभोगमा आउने काठ ४ हजार क्युफिट मात्रै हो’ निजी पारिवारीक वन संघ नेपालका अध्यक्ष जोकराज गिरीले भने ‘निर्यात गरेर प्रशस्त आम्दानी गर्नुपर्ने ठाउँमा कानुनकी जटिलताले घरको काठ कुहिएको छ, हामी आयात गरेर काम चलाएका छौं ।’

बुधबार बागलुङमा ‘पारिवारीक निजी वन किसानका सवाल’मा भएको जिल्ला स्तरीय छलफलमा सहभागि अधिकांशको माग सरकारी संयन्त्रबाट वन पैदावार उत्पादनको उपभोगमा हुने अबरोधमा केन्द्रित थियो । ‘वन पैदावरको उपयोग गर्दा पर्यावरण सकिने चिन्ता छ, किसानले आफुले बनाएको वनको प्रयोग गर्दा संरक्षण पनि गर्न सक्छन्’ गिरीले भने ‘जबसम्म तस्कर वनमा पस्दैन तबसम्म उपभोग गरेर मात्रै वन मासिँदैन् ।’ तस्कर रोक्ने र किसाने उपभोग गर्ने वातावरण बनाउन उनले माग गरे ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले दुनियाँले कार्बन उत्सर्जन गरेर वातावरण मासिसक्दा वन जोगाएर कार्बनको पैसा लिन नेपाल बाध्य भएको बताए । ‘हामी ठुलो आयस्रोत छोडेर सानो सहायतामा रमाईरहेका छौं, यहाँ सिस्टममै समस्या छ’ सापकोटाले भने ‘वनलाई वन्यजन्तुको संरक्षण, उत्पादनसँग जोडौं र जीवनस्तर सुधार गारौं, त्यसका लागि आवश्यक कानुन निर्माण र भएका कानुनको संसोधन आवश्यक छ ।’ सापकोटाले वन हेर्नका लागि मात्रै नभएर उपयोग गर्नका लागि पनि वातावरण बनाउनुपर्ने बताए ।

पारिवारीक निजी वन संघ गण्डकी प्रदेशका अध्यक्ष जीवन उचै ठकुरीले स्थानीय तहले वन सम्बन्धि कानुन निर्माण गरेर निजी वनको प्रयोगमा सहजता ल्याउनुपर्ने बताए । ‘सरकारी वन वातावरण र वन्यजन्तुसँग जोडेर संरक्षण र आवश्यक उपयोग गरौं’ उनले भने ‘निजी वनको उपयोग सहज बनाऔं, जसका कारण राष्ट्रिय वनको सुरक्षामा समेत टेवा पुग्छ ।’

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले वनको सरसफाई समेत आफ्नो तरिकाले गर्न नपाउने व्यवस्था वनको उपयोगका लागि बाधा पु¥याउने खालको रहेको बताए । ‘२८ वटा सामुदायीक वन छन्, काम नलाग्ने झाडी फँडानी गरेर संरक्षणका लागि १० लाख बजेट विनियोजन गरिएको छ’ थापा भन्छन् ‘वनका प्राबिधिकले सहयोग नगरे त्यहि झाडी फाँड्ने अधिकार समेत छैन् ।’

बागलुङका काष्ठ व्यवसायी दुर्गा बिकले आफ्नै बारीमा कुहिएको काठ उठाउन नपाएका कारण विदेशी काठ आयात गरेर काष्ठ उद्योग सञ्चालन गर्नुपरेको बाध्याता सुनाए । बागलुङमा ढोरपाटन शिकार आरक्ष, केही सरकारी वनका अलावा ५ सय २८ वटा सामुदायीक, ८ वटा निजी र अधिकांश दर्ता नभएका निजी वन छन् । जिल्लाभर झण्डै ३२ हजार हेक्टर क्षेत्रफलमा वन फैलिएको तथ्यांक डिभिजन वन कार्यालयसँग छ ।
कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत प्रकाश थापा, कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराई, पत्रकार महासंघका सचिव विजय रानालगायतले बोलेका थिए । हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तुलसी रेग्मी र सञ्चालन बैकुण्ठ सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->