पोखरा/ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल शनिबार पोखरा आएका छन् । पोखरामा आइतबार हुने कार्यकर्ता भेलामा संवोधन गर्न नेपाल पोखरा आएका हुन् । उनलाई स्वागत गर्न नेकपा एसका कार्यकर्ताले पोखरा विमानस्थलदेखि लेकसाइडसम्म मोटरसाइकल जुलुस निकालेका थिए ।
लेकसाइडस्थित एक होटलमा बसेका नेता नेपालले पार्टीका प्रदेश र जिल्ला तहका नेताहरुसँग छलफल गरेको नेकपा एस निकट अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले बताए । अध्यक्ष नेपालले आइतबार नेकपा एस कास्की र गण्डकी प्रदेश कार्यालयको उद्घाटन समेत गर्नेछन् । पार्टी कार्यालय उद्घाटन पश्चात पिपुल्स भोलिन्टियर कास्की गठन गर्ने तयारी गरेको न्यौपानेले जानकारी दिए ।
नेकपा एसले गठन गरेको महिला संघ, अखिल फोर्स, मुश्लिम समाजवादी संघ, अनेरास्ववियु लगायतका विषयमा जिल्ला र प्रदेश तहका नेताले अध्यक्ष नेपाललाई जानकारी गराएका छन् । अध्यक्ष नेपालसँगै पार्टी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ पनि पोखरा आएका छन् ।





