बागलुङ/वर्षा, हिलो र खोनालाना छिचोल्दै राष्ट्रिय जनगणना–२०७८ को काम बागलुङमा चलिरहेको छ । कठिन परिस्थितीसँग मुकाबिला गर्दै पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँ गाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेहरुको प्रारम्भिक विवरण लिन गाउँ पुगेका सुपरीवेक्षकलाई एकातर्फ बाढी र पहिरोको त्रास छभने अर्कोतर्फ संकलित विवरण अध्यावधिक गर्न कठिन भएको छ ।
घरमुली सूचीकरणका लागि जिल्लाभरी ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनौट भएका सुपरीवेक्षक भएपनि बाढी पहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला जनगणना कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । भदौ ३० देखि सुरु भएको सूचिकरणको काम असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।
यो राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको जनगणना हो । घर, परिवार लगायतको तथ्यांक तयार गरेर पूर्ण विवरणका लागि तयारी भएपनि संकलित विवरणहरु अध्यावधि गर्न सुपरीवेक्षकहरुलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको शर्माले बताए । ‘तीन दिनमा एकै पटक तथ्यांकहरु अध्यावधिक गर्नुपर्ने बाध्यता छ’ उनले भने ‘सदरमुकामै अबरोध भैरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौं ।’
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलन र अध्यावधिक गर्न समस्या भएको हो । ‘गणनाको लागि एउटा एप छ सोही एपमा अनलाईन नभएपनि प्रबिष्ट हुन्छ’ शर्मा भन्छन् ‘हामीले तथ्यांक पाउन भने संकलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ ।’
बागलुङमा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यउर्जा संचित हुन नपाउँदा बेला बेलामा समस्या हुने गरेको छभने कतिपय बिद्युत पुगेका टावरहरुमा समेत बिद्युतमा आउने समस्याका कारणले पनि बेला बेलामा समस्या आउने गरेको नेपाल टेलिकमले जनाएको छ ।
२०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ६८ हजार ६ सय १३ रहेको छ । पहिलो चरणमा संकलन गरिएको तथ्यांकका आधारमा मूल गणना गरिने छ । मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ ।





