पोखरा/ पोखरा महानगर प्रमुख मानबहादु जिसी २ महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयर सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ ।
मेयर जिसीको अस्वस्थतासँगै महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । कामकारबाहीलाई अघि बढाउन कार्यवाहकको जिम्मेवारी पनि दिएका छैनन् भने लामो समयदेखि कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । महानगर बैठक बस्न नसक्दा महत्वपूर्ण योजनाहरुसमेत कार्यान्वयनमा आउन नसकेको भन्दै अन्य जनप्रतिनिधिले गुनासो गरेका छन् ।
बजेट पारित भएको एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र १५ दिनभित्र वडालाई अख्तियारी दिने कानुनी व्यवस्ता भए पनि बेवास्ता गरिएको एक वडाध्यक्षले गुनासो गरे । वडाले बजेट खर्चको अख्तियारी नपाउँदा नयाँ योजनाहरु सञ्चालन गर्न नसकिएको र बजेटविहीन अवस्थामा बस्नु परेको ती वडाध्यक्षको भनाइ छ ।
‘बर्खामा यत्रो प्राकृतिक विपत्ति व्यहोर्नु प¥यो । कति डुबानमा परे, कतै पुलमा क्षति पु¥यायो । विपद् कोषमा ५ करोड छ । तर, खर्च हुनै सकेको छैन,’ ती वडाध्यक्ष भन्छन्, ‘महानगर लामोसमयदेखि प्रमुखविहीन बन्न पुगेको छ । बैठक बस्न नसक्दा एकमुष्टवाला बजेट बाँडफाँड हुन सकेको छैन । यसरी योजना कार्यान्वयन गर्न कसरी सकिन्छ ?’
एक लाख रुपैयाँभन्दा माथिका योजनालाई कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने भएकाले ती असार अन्तिमयता कुनै पनि नयाँ योजनाहरु सञ्चालन हुन नसकेको पोखरा १३ का वडाध्यक्ष दर्शन लामा बताउँछन् । ‘आजको दिनसम्म कुनै योजनाहरु सम्झौता भएको छैन । नगर सभाकै निर्णय प्रमाणित भएको छैन । राजश्वको काम पनि लथालिंगै छ । यसले महानगरलाई नै क्षति पुग्ने हो,’ उनले भने ।
मेयरबिनै कार्यपालिका बैठक बस्न सकिने भए पनि नडाकेको उनको गुनासो थियो । उनले लामो समयसम्म मेयर अस्वस्थ हुँदासमेत जिम्मेवारी हस्तान्तरण नगरेर गैरजिम्मेवार बनेको आरोप लगाए । उनले भने, ‘जनताले गुनासो त वडाका जनप्रतिनिधिलाई गर्ने हो नि ! उहाँहरुलाई हामीले के जवाफ दिने ?’
मेयर जिसीका उपचारका लागि काठमाडौं गएयता एकपटकमात्रै कार्यपालिका बैठक बसेको छ । साउन ५ गते महानगरको ५१ औं कार्यपालिका बैठक बसेर मेयर जिसीको ‘स्वास्थ्य लाभको कामना गर्ने’ र १० लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय भएको थियो । त्यसपछि अर्को बैठक बस्न सकेको छैन ।
लामो समयसम्म कार्यपालिका बैठक बस्न नसक्दा फोहोर मैला व्यवस्थापनका लागि नयाँ ल्यान्डफिल्ड छनोटको कामसमेत रोकिएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटको छनोट गर्न गठित समितिले रिपोर्ट तयार पारिसकेको भए पनि बैठकमा पेश हुन नसकेको समिति संयोजक तथा पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले बताएका छन् । ‘२÷३ वटा उपयुक्त ठाउँको विश्लेषण गरेर प्रतिवेदन बनाएका छौं । तर, पेश भइसकेको छैन । अब बैठक सुरु भएपछि पेश गर्ने हो,’ ढोरपाटनसँग उनले भनेका छन् ।
मेयर जिसीले नयाँ आर्थिक वर्षको बजेट खर्च गर्ने आर्थिक अख्तियारीसमेत लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतलाई दिएका थिएनन् । बजेट पारित भएको एकहप्ताभित्र प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको अख्तियारी दिनुपर्ने कानुनी व्यवस्था रहे पनि मेयर अस्वस्थ्य रहेकै करण लामो समयसम्म अख्तियारी दिइएको थिएन । अख्तियारी नदिएकै कारण महानगर कर्मचारीको तलब र अन्य भुक्तानीसमेत रोकिएको थियो ।
बजेट खर्च अख्तियारी नदिँदा वडाहरु बजेट शून्य र योजनाविहीन भएको भन्दै चर्को विरोध भएको थियो । जनप्रतिनिधिबाटै विरोध सुरु भएपछि पछि मेयर जिसीले भदौ २३ गतेमात्रै प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई बजेट खर्चको अख्तियारी दिएका छन् ।
मेयर छिट्टै निको भएर फर्किनुहुन्छ भनेर पर्खी बस्र्यौं : महानगर

पोखरा महानगर प्रवक्ता धनबहादुर नेपालीले मेयर फर्किने आशामै कार्यपालिका बैठक बस्न नसकेको जानकारी दिए । ‘जटिल होइन । सञ्चो भएर फर्किनु हुन्छ भनेर पर्खियौं । तर, पर्खाइ लामो भयो,’ उनले भने, ‘सायद उहाँले पनि छिटै निको हुन्छु भन्ने विश्वासले कार्यवाहक जिम्मेवारी अरुलाई नदिनु भएको होला !’
प्रवक्ता नेपालीले पनि मेयरको अनुपस्थितिमा महत्वपूर्ण निर्णयहरु हुन नसकेको स्वीकारे । ‘ऐनमै टेकेर केही ढिलो गरी बजेट खर्च गर्ने अख्तियारीको जिम्मेवारी प्रमुख प्रशासकीयलाई दिनु भएको छ । उपप्रमुखलाई कार्यवाहक दिएर उहाँमार्फत पनि गराउन सकिन्थ्यो । तर, केही छैन,’ उनले भने, ‘बीचमा बैठक पनि बस्न सकेनौं । एकपटक बसेर उहाँको स्वास्थ्य लाभ ग¥यौं ।’ मेयर जिसी पोखरा फर्किएपछि बैठक बस्ने उनले बताए ।
मेयर मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालका अनुसार उनको स्वास्थ्यावस्था सुधारोन्मुख छ । मस्तिष्कघातले नसामा असर पुगेकाले निको हुन समय लागेको उनले जानकारी दिए । ‘अहिले त्यस्तो चिन्ता लिनु पर्ने अवस्था छैन । सुधारोन्मुख हुनुहुन्छ । असोजको दोस्रो हप्तामामात्रै पोखरा फर्किनुहुन्छ,’ उनले भने । उनको आउँदो बिहीबार दोस्रो शल्यक्रिया हुँदैछ । सोमबार हुने भनिएको शल्यक्रिया पिसाबमा समस्या आएका कारण सरेको उनले बताए ।





