बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनपरी मुल्य निर्धारणले किसान र उपभोक्ता मर्कामा

मनपरी मुल्य निर्धारणले किसान र उपभोक्ता मर्कामा


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी पनि बिक्री गर्छिन् । बजारमा रहेका फलफुल तथा तरकारी व्यवसायीले उनले तरकारी सबै खरिद गर्छन् । बजारमा बाहिरी जिल्लाबाट आएको तरकारी कम भएको बेला सरिताले राम्रो मुल्य पाउँछिन्, बाहिरी जिल्लाको तरकारी प्रशस्तै आयो भने उनको तरकारीको मोलमोलाई हुन्छ ।

‘बजारमा तरकारी आएको बेला खुसुक्क फर्ममा पुग्छन् र भन्छन् अन्त नभन्नु मुल्य राम्रो दिन्छु’ सरिता भन्छिन् ‘बजारमा तरकारी प्रशस्तै भए उनीहरुकै पसलमा पु¥याउँदा समेत वास्ता गर्दैनन्, तर तरकारीको कुनै तोकेको मुल्य छ न त मुल्य निर्धारण गर्ने निकाय नै ।’

बजारमा तरकारीको मुल्य तोक्ने कुनै निकाय नभएकै कारण मनपरी मुल्य र खुसुक्क मुल्य निर्धारण हुने गरेको उनको गुनासो छ । उपभोक्ता र किसान शर्मा बिचको दुरी नजिक छ तर उपभोक्ताले सिधै सरिताको तरकारी खरिद गर्न सकेका छैनन् भने उनले फलाएको तरकारीले उपभोक्ताले तिरेको मुल्य पाएको छैन् । बिचौलियाका कारण बागलुङ बजारमा तरकारीको मुल्यमा मनपरी चल्छ । जसको मारमा उपभोक्ता र किसान दुवै छन् भन्छन् अर्का किसान कोपिल बुढाथोकी ।

‘बजारमा हप्तामा एक पटक मासुको मुल्य तोकिन्छ, दुध, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मुल्य तोकिएबमोजिम हुन्छ’ बुढाथोकी भन्छन् ‘कुश्मामा पहिरो जानुअघि ३० रुपैयाँ किलोको तरकारी पहिरोले बाटो रोक्दा किन ८० पुग्छ ? उत्पादन जिल्लामै छ, किसानको बारीमा कुहिएको छ, बजारमा मनोमानी चल्छ ।’ तरकारीको थोकमुल्य र बजार मुल्य निर्धारण नहुने गरेकै कारण उपभोक्ता र किसान मर्कामा परेको बुढाथोकीले गुनासो गरे ।
बजार मुल्यले उपभोक्ता थिचिँदा किसानको उत्पादनले मुल्य नपाएकै कारण किसानको अवस्था नसुध्रिएको किसान नारायण प्रसाद शर्मा बताउँछन् । ‘हेर्नुस् बर्षौं भयो तरकारी गरेको, बजारको मुल्य हेर्दा मालामाल भयो होला भन्ने लाग्दो हो तर किसानको अवस्था उस्तै छ’ शर्माले भने ‘किसानले बिउँ मलसमेत पु¥याउन सक्दैन, किसान र उपभोक्ता दुवै ठग्ने को हो खोज्नु पर्दैन् ?’ किसान र उपभोक्ताको गुनासो व्यापक रहेपनि जिल्लामा दैनिक उपभोग्य वस्तुको थोक तथा खुद्रा मुल्य तोक्ने निकाय नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

‘अहिले हामीले थोक तथा हाटबजार सञ्चालनका लागि परामर्श थालेका छौं, समुह र सहकारीले यस्तो बजार सञ्चालन गर्ने भए कार्यसमिति तयार हुन्छ, सोही समितिले मुल्य निर्धाराण र व्यवस्थापन गर्छ ।’ सरकारी निकायले बेला बेलामा बजारको अनुगमन गर्ने गरेपनि किसानको मर्काबारे भने कसैले आवाज नउठाउने किसानको गुनासो छ ।

बागलुङ बजारमा कृषि हाटबजार तथा थोक बजार सञ्चालनका लागि जिल्ला कृषि सहकारी संघले नगरपालिका, कृषि ज्ञान केन्द्र र उद्योग बाणिज्य संघ सँगको सहकार्यमा काम थालेको छ । संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार तथा थोक बजार व्यवस्थापन समिति गठन भैसकेकाले अब भने किसान र उपभोक्ताका समस्या समाधान हुनेगरी काम अघि बढ्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->