‘महिलामा पनि हामी दोस्रो दर्जाका हौं भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’
तनहुँ/ ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको चटारोले छोएको छ । निर्धारित मिति फेरबदल नभए नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँका ६ गाउँपालिका र ४ नगरपालिकाको अधिवेशन ९ असोजमा हुनेछ ।
अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा पुग्न उम्मेदवारी घोषणा गर्ने र आकांक्षा व्यक्त गर्नेहरु बढेका छन् । उम्मेदवारी घोषणा गर्ने र आकांक्षा व्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । जिल्ला सदरमुकाम रहेको व्यास नगरपालिकामा त पत्रकार सम्मलेन गर्दै उम्मेदवारी घोषणा पनि धमाधम भइरहेका छन् ।
गाउँ /नगरको नेतृत्व सम्हालन उम्मेदवारीदिने र आकांक्षा व्यक्त गर्नेको भिडमा महिलाको संख्या नगन्य छ । महिलालाई रोलक्रम र कोटामा मात्रै सिमित पारियो भन्ने आरोप लाग्दै आएको बेला महिला स्वयं नेतृत्व तहमा पुग्नलाई आकांक्षासमेत व्यक्त गर्न नसकेको देखिन्छ ।
व्यास नगरपालिकामा सभापति पदमा ९ जनाले उम्मेदवारी घोषणा गर्दामहिलाको संख्या भने शून्य छ । उपसभापति, सचिव, सहसचिव पदमा पनि महिलाले अहिलेसम्म उम्मेदवारी दिएका छैनन् । खुलेर आकांक्षा व्यक्तसमेत गरेका छैनन् ।
शुक्लागण्डकी नगरपालिकामा उपसभापति पदमा सपना पराजुलीले सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत उम्मेदवारी घोषणा गरेकी छन् । १४ औं महाधिवेशन अन्तर्गत गाउँ÷ नगर अधिवेशनमा कार्यकारी पदमा उम्मेदवारी घोषणा गर्न हिम्मत जुटाएकी छन्, उनले ।
समावेशीताका लागि आफूलेउम्मेदवारी घोषणा गरेको पराजुलीले बताइन् । ‘हामीलाई सधैं ठाउँ दिइएनमात्रै भन्ने गर्छौं । खोजेर लिन जान्दैनौं । चाहियो नभनेपछि ला ! भन्दै कस्ले दिन्छ?महिलालाई पद दिन्छन् कि दिँदैनन्, त्यसैको परीक्षणका लागि पनि मेरो उम्मेदवारीहो’, उनले भनिन् । आकंक्षी नभएकै कारण महिला कोटामा सीमित रहेको पराजुलीको ठम्याइँ छ ।
यस्तै, तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शुक्लागण्डकीकै लक्ष्मी सिग्देलले पनि उम्मेदवारीदिएकी छन् । यी २बाहेक अरु महिला नेतृले खुलेर आकांक्षा व्यक्त गर्न नसकिरहेको अवस्था छ ।
महिला आकंक्षी धेरै भएपनि पर्ख र हेरको स्थितिमा रहेको कांग्रेस नेतृ सरिता गुरुङ बताउँछिन् । ‘योगदानको आधारमा पद पाउनुपर्छ भन्ने धेरै छन् । पहिल्यैदेखि पेलिँदै आएको भएर महिला दिदीबहिनीले उम्मेदवारी सार्वजनिक गर्न डराएका हुन्,’ भन्छिन्, ‘९ गते नै अधिवेशन हुने नहुने अन्यौल कायमै छ । आकांक्षी भएर उम्मेदवारी दिँदा कतै पाखा लगाइदिने त हैनन् भनेर पनि कतिपय सार्वजनिक भएका छैनन् ।’
पार्टीको विधानले ७ जना पदाधिकारीमा महिला अनिवार्य उल्लेख नगर्दा महिला झनै पछाडि पर्ने उनको भनाइछ । ‘७ जना पदाधिकारी भनिएको छ । तर, महिला उल्लेख छैन् । सम्भावना कम देखेर पनि आकांक्षा व्यक्त गर्न सकिरहेको अवस्था छैन’, गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी गुरुङले भनिन् ।
जिल्लाका ८५ वडामा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा ४ जना मात्रै महिला सभापति बनेर नेतृत्वमा पुगेका छन् । लोकतान्त्रिक भनिएकै पार्टी कांग्रेसले महिलालाई नेतृत्व तहमा ल्याउन सकिरहेको छैन।
पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई आकांक्षा समेत व्यक्त गर्न नसेकेको नेपाल महिला संघ तनहुँकी सभापति पवित्रादेवी पौडेल बताउँछिन् । महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको पौडेलको भनाइछ । ‘महिलामा पनि हामी दोस्रो दर्जाका हौं भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’, उनले भनिन् ।विगतका तुलनामा धेरै महिला नेतृत्वमा आउने तरखरमा रहेको उनले दाबी गरिन् । नेतृत्व तहसम्म पुग्न पार्टीपंक्ति, घर परिवार र समाजले साथ दिनुपर्ने पौडेलको तर्क छ ।
यी हु्न तनहुँपालिका सभापतिका दाबेदार
व्यास नगरपालिकामा सभापति बन्ने दौडमा आधा दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । मोहनकुमार श्रेष्ठ, चुडामणि दाहाल, डम्बर अधिकारी, सूर्यचन्द्र हड्खले, हरिदत्त पौडेल, डा. शेषरमण न्यौपाने र बैकुण्ठनाथ मिश्रले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका केही ‘ब्याक’ भइसके ।
शुक्लागण्डकी नगरपालिकामा पनि सभापतिका आकंक्षी धैरै देखिन्छन् । पुराना नेता गोपिबहादुर गुरुङ, खेमराज खनाल, सन्तोष घिमिरे, कृष्णप्रसाद रेग्मी, यामबहादुर खाँणले उम्मेदवारी घोषणा गरेका छन् । सर्वसम्मत भए पुराना नेता गुरुङलाई यसपालि नगर सभापति बनाउने पार्टीको आन्तरिक तयारी हो ।
भिमाद नगरपालिकामा पनि नगर सभापतिका आकंक्षी धेरै छन् । दयानिधि पौडेल, चित्रबहादुर राना, अर्विन श्रेष्ठ, रामकृष्ण थापा र टेकबहादुर थापा नगर सभापति बन्न चाहन्छन् । भानु नगरपालिकामा २ जनामात्रै देखिन्छन् आकांक्षी । रामकुमार श्रेष्ठ र नविनराज दाहालले यसपाली नगर सभापति बन्ने ईच्छा प्रकट गरेका छन् ।
म्याग्दे गाउँपालिकामा चार जना सभापति बन्ने दौडमा रहेको छन् । विनोद खनाल, पुर्णचन्द्र घिमिरे, रामभक्त घिमिरे र नरसिहं राना आकंक्षी रहेको बताइन्छ ।घिरिङ गाउँपालिकामा पनि सभापतिको दाबेदार धेरै देखिएका छन् । हालका सभापति इमानसिंह थापा सहमती भएमा फेरी दोहोरिन चाहान्छन् । यस्तै, चुननारायण श्रेष्ठ, सुमन थापा, गंगाराम कुमाल र पशुपति पोखरेल पनि सभापतिका दाबेदार हुन् ।
ऋषिङ गाउँपालिकामा दानबहादुर श्रेष्ठ र तिलबहादुर थापा सभापति बन्न दौडधुप गरिरहेका छन् । बन्दीपुर गाउँपालिकामा ८ जना सभापतिका आकांक्षी थिए । लामो छलफलपछि आकंक्षी दुई जनामा मात्रै भएका छन् । बैंश गुरुङ र कर्ण खत्रीले सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
आँबुखैरेनी गाउँपालिकामा बिष्णु पन्थ, प्रितम गुरुङ, रत्नकुमार श्रेष्ठ र ऋषि केसी लगायतले सभापति बन्ने चाहना व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ । देवघाट गाउँपालिकामा पनि दुई जना आकंक्षी छन् । पार्टी स्रोतले दिएको जानकारी अनुसार तिलबहादुर थापा र अर्जुन अधिकारी सभापतिका दाबेदार हुन् ।





