तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेको माधव नेपाल समूहलाई कुचोले बडार्नु पर्ने फोहोर हावाले बढारेको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा भएको जिकिर गरे ।
तनहुँको शुक्लागण्डकीमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै नेता गुरुङले भने,‘एमाले विभाजन भयो भनेर हामीले दुःख मान्नु पर्ने कुनै कारण छैन । जे हुन्छ, ठीक हुन्छ । जे घटना घट्यो, घटनाप्रति दुःख मानेर बस्ने हैन् । शक्ति बटुलेर अगाडी बढ्ने हो ।’
उनले नेकपा एमाले खहरे खोला नभएर नदी भएको उल्लेख गरे । ‘एमाले खहरे होइन्, नदीहो । नदीमा भंगालो फाट्दैमा अस्तित्व हराउदैन्, नदी बगिरहन्छ । त्यस्तै गरेर नेकपा एमाले अगाडी बढिरहको छ, बढिरहनेछ’, गण्डकी प्रदेशका पुर्व अर्थमन्त्रीसमेत रहेका गुरुङले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।
उनले केपी ओलीलाई कारण देखाएर पार्टी छोड्नु गलत भएको जनाए । ‘व्यक्ति केही होइन् । तपाईं हामी सबैले बनाएको पार्टी हो । व्यक्तिगत कारणले पार्टी छोड्नु हुदैन्थ्यो’, उनले भने । नेकपाएमाले कम्युनिष्ट आन्दोलनको मुलघर बनेको नेता गुरुङको दाबी छ ।
संविधानसभा सदस्य टुकराज सिग्देलले पार्टीबाट अलगभएर माधव नेपालले पार्टीलाई भन्दा ठुलो धोका जनतालाई दिएको बताए । एमालेसँग एक्लै लड्न नसकेर पाँच दलको गठबन्धन बनाईएको उनको भनाइ छ । एमालेको नेतृत्वमा मात्र राष्ट्रियता सुरक्षित हुनुका साथै सन्तुलित परराष्ट्र नीति सम्भव भएको सिग्देलको दाबी छ । संविधानसभा सदस्य हसिना बेगमले एमाले सरकारको पालामा बिकासको जनलहर आएको बताइन् ।





