पोखरा/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले ६ फागुनमा पोखरा प्रदर्शनी केन्द्रमा भनेका थिए, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौं ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलो पटक संसद विघटन गरेपछि आन्दोलनमा जान हिचकिचाउँदै देउवाले त्यसो भनेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यही मञ्चबाट प्रधानमन्त्री ओलीले लोकतन्त्र मास्न लागेकाले कांग्रेस आन्दोलनमा जानुपर्ने बताइरहँदा देउवाले प्रत्युत्तरमा थपे, ‘क्रियाशिल सदस्य लिने बेलामा मारामार हुन्छ, आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने पनि आउँदैन ।’
देउवाले यसो भनेको ७ महिनापछि त्यही प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस पोखरा महानगर समितिको अधिवेशन भयो । अधिवेशनमा मतदान गरेपछि कांग्रेस कास्कीका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले ठट्टा गरे, ‘जुलुस निकालेको जस्तो झल्को आयो ।’
कांग्रेसको वडा अधिवेशन सकिएर शनिबार पालिका अधिवेशन भएको छ । अझै, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनै बाँकी छ । पालिका अधिवेशनमा देखिएको तडक भडकले माथिल्लो तहको अधिवेशन थप भड्किलो हुन सक्ने कांग्रेस नेता, कार्यकर्ताले बताएका छन् ।
पोखराको नयाँबजारदेखि प्रदर्शनी केन्द्र जाने सडकबाटै सभापति, उपसभापति सचिवलगायतका उम्मेदवारहरुले ठूला–ठूला तस्वीरसहितको तुल र व्यानर राखेका थिए । मतदान स्थलबाहिर उम्मेदवारले मत माग्न छुट्टाछुट्टै स्टल राखेका थिए । स्टलमा उम्मेदवारले पर्चा, पम्प्लेट क्षेत्रीय प्रतिनिधि र वडा सभापतिलाई वितरण गरिरहेका थिए । आफ्नो पक्षको उम्मेदवगारलाई जिताउन भरमग्दुर प्रयास गरिरहेका थिए ।
मतदानस्थलमा पनि उम्मेदवारहरुले मतदाता रुजु गर्न प्रतिनिधि राखेका थिए । कार्यकर्ताहरु छातीमा ब्यानर टाँसेर आफ्नो पक्षका उम्मेदरा जिताउन लागिपरेका थिए । उम्मेदवार र तिनका समर्थकले सडकमा फालेका पर्चा, पम्प्लेट र पानीका बोतल छरपस्ट थियो, केही युवा कार्यकर्ताले उम्मेदवारको फोहोर टिपेर सफा गरे ।
विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन डेढ वर्षअघि नै हुनुपर्ने थियो । अधिवेशनमा भएको ढिलाइले युवाहरुको भीड देखिएको पूर्वमन्त्री थापाले बताए । यसका अलवा कांग्रेसमा बढेको क्रियाशील सदस्य अनुसार क्षेत्रीय प्रतिनिधिको संख्या पनि बढ्यो, यसले पनि भीडभाड बढाएको उनको तर्क छ ।
कांग्रेसको संगठन बहुपदीय प्रणालीमा गएका कारण पनि तामझाम बढेको थापाले बताए । ‘पालिका अधिवेशनमा भिडभाड र तामझाम देखियो’, उनले भने, ‘करोडौं खर्चेर लेनदेन भएको नदेखिएकाले यसलाई स्वभाविक प्रक्रिया मान्नुपर्छ ।’
कांग्रेस कास्कीका सादगी नेताका रुपमा परिचित थापाले पार्टीको तल्लो निकायमा देखिएका तामझाम माथिल्लो निकायको अधिवेसनमा पनि देखिन सक्ने आशंका गरे । उनले भने, ‘पालिका तहमा भन्दा धेरै ओजिलो निकायको अधिवेशन गर्न अझै बाँकी छ, यस्ता तामझाम र भड्किलो व्यवहारले ठाउँ पाउँछ कि भन्ने आशंका जन्मिएको छ ।’





