बागलुङ/ पहिरोका कारण साढे तीन महिनादेखि अबरुद्ध बागलुङ कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिरोले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।
गत असार १ गते खसेको पहिरोका कारण अबरुद्ध भएको सडक असार १८ गते बर्षासँगै आएको पहिरोका कारण क्षतबिक्षत भएको छ । सडक मर्मतका लागि बागलुङ नगरपालिकाले बिपत् व्यवस्थापन कोषबाट १६ लाख ६० हजार रुपैयाँ र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए ।
२० लाख ९३ हजार रुपैयाँ लागत स्टमेट गरेर मर्मत थालिएको सडक दशैं अगावै सञ्चालनमा ल्याईने शर्माले बताए । ‘तीन चरणका कामको स्टमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुनेछन्’ बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले भने ‘पहिरो गहिरो गरि खसेकाले सडकको नमुना निकाल्नै कठिन छ ।’ पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सुचारु गर्न कठिन हुने स्थानीय बिरबहादुर थापा बताउँछन् ।
‘पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्कि बनाउँदा लामो समय पानी जमिनमुनी जानेगरी छोडिदिए’ थापाले भने ‘एकातर्फ पहिरोको त्रासमा हामीले बाँच्नुपरेको छ, अर्कोतर्फ केटाकेटी विद्यालय पठाउन समेत बाटो छैन ।’ पहिरोका कारण सडक अबरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिक रुपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिरोले बेला बेलामा अबरुद्ध हुने गरेको छ ।
नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका ८ जना उपभोक्ताको सहभागिमा उपभोक्ता समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । ‘मलाई गाउँ बसिनसक्नु भयो, अस्थायी रुपमा भएपनि सडक खुलाउन पहल थालेका छौं’ बागलुङ नगरपालिका–१२ का अध्यक्ष गुरुदत्त पाठकले भने ‘यो बाटो दिर्घकालिन बनाउन हाम्रो बलबुताले भ्याउँदैन्, तालुक निकायको ध्यान गएन ।’ हिउँदको समयमा मात्रै चल्नेगरी भएपनि सडक सुचारु गर्न मर्मत थालिएको पाठकले बताए । दव्ल्याङदेखि वडा नं. १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्रे रहेको उक्त सडक एउटै पहिरोले साढे तीन महिनादेखि प्रयोगबिहिन थियो ।





