बागलुङ/बागलुङ बजारबासीले वर्षौदेखि हिलो र गुणस्तरहिन पानी खाइरहेका छन् । वर्षात्मा खोलाबाटै सोझै जोडेको पानी पठाइन्छ भने हिउँद लागेपछि मानिस पौडी खेल्ने पोखरीको पानी बितरण हुन्छ ।
बागलुङ बजारबासी, कर्मचारी, सेना, प्रहरीसमेत गर्दा झण्डै ३५ हजारले खाने पानीको गुणस्तरबारे पटक पटक आवाज उठेपनि कसैले सुनेका छैनन् । खानेपानी वितरणको जिम्मा लिएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भने दिगो श्रोत अभावलाई कारण देखाउने गरेको छ ।
दिगो व्यवस्थापनका लागि भन्दै काठेखोलाबाट लिफ्ट गरेर खुवाउने योजना छ । तर उक्त योजना वर्षौदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नसक्दा रिजर्भ ट्यांकी निर्माण गर्न लागेको कैलमपोखरीमा वर्षेनी पहिरो खसेको छ । पहिरोले अदालत चौपारीदेखि तित्याङ जाने सडकसमेत भाँसिएको छ । उक्त सडक भाँसिदा यहाँको देउराली चोकतर्फको बस्ती समेत जोखिम बढेको छ ।
यता डिभिजन खानेपानी कार्यालयको तथ्यांकमा भने बागलुङमा ९४ प्रतिशत शुद्ध खानेपानी पुगेको देखाएको छ । ‘जिल्लामा ९४ प्रतिशत शुद्ध खानेपानी पुगेको देखिन्छ’ कार्यालयका इन्जिनियर इश्वरीप्रसाद शर्माले भने, ‘नगर खानेपानीको जिम्मा लिएको तथ्यांक हामीले जोडेका छैनौं ।’ ग्रामीण क्षेत्रमा मुलको पानी खाएकालाई मात्रै तथ्यांकमा राखेर उक्त प्रतिशत बनाइएको सरोकारवालाले टिप्प्णी गरेका छन् । डिभिजनले समावेश नगरेकोले तथ्यांकमा नदेखिएपछि बागलुङ बजारमा भने शुद्ध पानीको गणना नभएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंंगानाले बताए ।
‘पानी अशुद्ध आइरहेको छ, शुद्ध खुवाउन जवाफदेही बनाउन सबैको चासो र पहल चाहिएको छ’ उनले भने, ‘प्रशासनमा पुगेको मुद्दा पनि त्यसै हरायो ।’ गतवर्ष प्रशासनमा मुद्दा परेपछि फिल्ड निरिक्षण भएको थियो । तर शुद्ध पानी खुवाए नखुवाएको केही प्रतिक्रियासमेत आएको थिएन ।
अहिले पनि बागलुङ बजारमा खानेपानी बोक्सेस्थित सडक छेउमा खसेको छहराबाट सोझै ल्याइएको छ । सडक नाली बनेको स्थानमा थुनेर ल्याएको पानी सोझै बजारमा बितरण भएको छ । उक्त पानी खान योग्य छैन । बेलाबेला हिलाम्मे आउने भएपछि टिकाटिप्प्णी पनि हुन्छ । तर उपभोक्ता समितिले नालीबाटै वितरण गरेको जानकारी दिने गरेको छैन ।
‘सकेसम्म शुद्द पानी खुवाउने हो, नभएपछि जस्तोतस्तो पठाएका छौं’ उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले भने, ‘लिफ्ट आयोजना नबनेसम्म चाहिने पानी दिन कठिन छ ।’ बागलुङ बजारमा अहिले पनि प्रतिसेकेण्ड ७५ लीटर पानी आवस्यक भएकोमा ४० लिटरसमेत नआएको हो ।
२०३२ सालमा पहिलोपटक तित्याङबाट ल्याएको खानेपानी जीर्ण भैसकेको छ । यो आयोजनाबाट १३ वटा धारा जडान भएका थिए । अहिले बजारभित्र मात्रै ४ हजार धारा जडान भैसकेपछि पुरानो संरचनाले धान्नै नसक्ने भएको हो । बजारमा आउने पानी धमिलो र अशुद्ध भएकोले उमालेर खानुपर्छ भन्ने सन्देशसमेत उपभोक्ता समितिले दिएको छैन ।
एक वर्षअघि बागलुङ नगरपालिकाले पनि खानेपानीमा अभिभावकत्व लिने भन्दै चासो राखेको थियो । नगरपरिषदमा लिखित रुपमा एजेण्डा पेश पनि भएको थियो । तर उक्त एजेण्डालाई अहिले चासो दिन छाडिएको छ । ‘नगरपालिकाले बजारभन्दा माथिल्लो बस्तीमा खानेपानी खुवाउन लिफ्ट आयोजनामा जोड्न मात्रै चासो राखेको देखियो’ उपभोक्ता समितिका एक सदस्यले भने, ‘सामान्य मर्मत, तत्काल चाहिने पाइप दिने जस्ता काममा वास्तै गर्दैन ।’ वर्षात्मा खसेका पहिरोले पटकपटक पाइपलाइन भत्कने र भाँचिने हुँदा सामान ओसार्न समेत नगरपालिकाबाट साथ र सहयोग नपाएको श्रेष्ठले बताए ।





