पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि संचालनको तयारी थालिएको छ । अबको ३ महिनामै आन्तरिक उडान थालेर आगामी बैशाखदेखि अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।
विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नीतिगत निर्णय लिन र आवश्यक समन्वय गर्न आग्रह गरेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । गौतम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न गठन गरिएको विमानस्थल सञ्चालन तथा स्थानान्तरण समितिका संयोजक समेत हुन् ।
विमानस्थल संचालनको प्रक्रियामा सबैभन्दा पहिला सुरक्षा हेरिएको भन्दै गौतमले अहिले चलिरहेको पोखरा विमानस्थलबाट भन्दा गुणस्तरीय सेवा दिने गरी तयारी गरिएको बताए । ‘सबैभन्दा पहिला एयरपोर्टले सेफ्टी, सेक्युरिटी र फ्यासिलिटी दिनुपर्छ,’ उनले भने, ‘हामीले यो सब हेरिसकेका छौ, १ जनवरी २०२२ मा आन्तरिक उडान भर्ने महत्वाकांक्षी तयारी गरेका छौं ।’
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि आन्तरिक उडान थालेर तयारी अघि बढाउन सजिलो हुने गौतमले बताए । विमानस्थल सञ्चालनको पहिलो दिनदेखि नै कुनै पनि बाधा अवरोध नहुने गरी सञ्चालन हुन सक्ने उनको भनाइ छ । विमानस्थल सञ्चालन गर्न आवश्यक मानवीय संशाधन र उपकरणका बारेमा अध्ययन गरिसकेको समेत गौतमले बताए ।
‘विमानस्थल संचालन गर्न आवश्यक दक्ष मानव संशाधन कस्तो चाहिन्छ भनेर काम गरेका छौं,’ उनले भने, ‘आकाशमा उडान भर्न एरिया तोक्न हाम्रो टिम सक्षम छ, कुनै समस्या छैन ।’ ३ महिनाभित्र आन्तरिक उडान भर्न सम्भव भएको भन्दै उनले यसका लािग नागरिक उड्ययन प्राधिकरण र चिनिया ठेकेदार कम्पनीवीच समझदारी र समन्वय हुनुपर्ने बताए । विमानस्थल सञ्चालन गर्न आवश्यक संशासन प्राधिकरणले दिनुपर्ने र ठेकेदार कम्पनीले पनि आवश्यक संरचना हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।
पोखरा विमानस्थलबाट सञ्चालित उडान भिजुअल उडान हो । पाइलटले हेरेर उड्ने नियमबाट उडान भर्ने काम गरिरहेको भन्दै गौतमले अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै संरचना बनिसकेकाले अहिले पोखरा विमानस्थलबाट दिएको सेवा अझ प्रभावकारी बनाउन सकिने बताए ।
विमानस्थ्लमा अन्तर्राष्ट्रिय उडान भर्न विभिन्न ४ वटा देशका विमानस्थलसँग सहकार्य गर्न पनि विमानस्थल स्थानान्तरण तथा अप्रेसन समितिले सिफारिस गरेको छ । समितिका संयोजक गौतमले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताए । धेरै नेपाली पुगेका ठाउँ र नेपालसँग बढी सम्पर्क भएका ठाउँबाट अन्तर्राष्ट्रिय उडान भर्न पहिलो चरणमा यी चार ठाउँ रोजेको गौतमले बताए ।
‘दिल्लीबाट धेरै पर्यटक आउन सक्छन्, नेपालीको आवत जावत पनि राम्रो छ, यस्तै दोहामा र खाडी मुलुक गएका नेपालीका लागि दोहा विमानस्थलबाट सेवा दिनुपर्छ,’ उनले भने, ‘हङकङ र बैंकक पनि नेपालीको धेरै आवतजावत छ, त्यहाँबाट सेवा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्छ ।’
पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरु भएपछि कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई राहत दिने गौतमको दाबी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबढी एयरक्राफ्ट अवतरण र उडान भर्न सक्छ । विमानस्थल संचालन गर्न स्थानीयबासी र व्यवसायीको पनि उत्तिकै साथ चाहिने भन्दै गौतमले अब ढिलाई गर्न नहुने बताए । अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि बृहत्तर पोखराको अवधारणामा जानुपर्ने भन्दै उनले त्यसका लागि आसपासका जिल्लालाई समेटेर पर्यटन विकासका योजना लागु गर्नुपर्ने बताए ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक एयर रुटका बारेमा भने अहिलेसम्म सरकारले तयारी गरेको छैन । भारतबाट गोरखपुर हुँदै भैरहवा निस्केर पोखरा आउँदा उडान समय छोटिने र यसले हवाई शुल्क सस्तो बनाउन सक्ने गौतमले बताए । उनका अनुसार अहिलेसम्म विमान नेपाल छिर्न भारतीय सिमानाबाट सिमरा र विरगंज गरी २ वटा नाका छन् भने चीनबाट एउटा नाका मात्र रहेको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न भैरहवाको हवाई नाका खोल्न सके उडान समय छोट्टिने र लागत कम लाग्ने उनको भनाई छ ।
अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यस विमानस्थलको काम ८४ प्रतिशत सकिएको छ । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ बर्ष समय थप गरेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।
चिनीया कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो । विमानस्थल संचालनका लागि आयोजनाले बुधबार गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुलाई बोलाएर जानकारी दिएका थिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले विमानस्थल संचालन गर्न प्रदेश सरकारले आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको बताएका थिए ।





