बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

करेसामा सूर्यका उज्याला !

करेसामा सूर्यका उज्याला !

२०५९ सालमा १४ वर्षको कलिलो उमेरमा युद्धमा होमिएका उनले जीवनको ऊर्जावान ७ वर्ष समय युद्ध र क्यान्टोनमेनमा बिताए ।


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

बागलुङ/ खोलाको छेउमा ठूलो प्लास्टिक घर । आसपासमा रहेका ससाना टहरा, त्यहाँभन्दा तलका ससाना प्लास्टिक घर र पानीका पोखरी । त्यहीं हुर्किरहेका छन् – सूर्यका सपनाहरु ।
प्लास्टिक घरमा हुर्किरहेका गोलभेंडालगायत तरकारीका बिरुवा, खोरमा विभिन्न जातका बंगुर र खोलाको चिसो पानीको सदुपयोग गर्दै पालिएका माछा । जसरी समयको चक्र घुमिरहेको छ, उसैगरी हुर्केका विरुवा, बंगुर र माछाले निर्धारण गर्नेछन् सूर्यको भाग्य र भविश्य ।

बागलुङको गलकोट नगरपालिका १, दुदीलाभाटीका ३२ वर्षीय सूर्य कुँवर व्यावसायिक किसान हुन् । दुदिलाभाटीको भाटीबजार नजिकै खोला छेउमा उनको कृषि फार्म छ । तरकारीदेखि माछामासु उब्जाउन उनी दिनरात खटिन्छन् । परिवारको सहयोग र कामदारसमेत राखेर उनको फार्मले गति लिएको छ ।

सूर्य हण्डर र ठक्करले खारिएका युवा हुन् । तत्कालीन द्वन्द्वको समयमा उनले देशमा आमुल परिवर्तनको सपना देखे । देशको माटो र नेपालको मुहार फेर्ने सपना देखेर सानै उमेरमा युद्धमा होमिएका सूर्य माओवादी जनयुद्धका पूर्व लडाकुसमेत हुन् । २०५९ सालमा १४ वर्षको कलिलो उमेरमा युद्धमा होमिएका उनले जीवनको ऊर्जावान ७ वर्ष समय युद्ध र क्यान्टोनमेनमा बिताए ।

उमेर नपुगेको भनेर राष्ट्र संघीय मिसन अनमिनले उनलाई अयोग्य ठहर ग¥यो । क्यान्टोनमेनबाट रित्तोहात बाहिरिएका सूर्यको हातमा अहिले करोडको सम्पत्ति हुर्किरहेको छ । ७ वर्षको लडाकु जीवनबाट बाहिरिएपछि रित्तो हात घर फर्केका उनी ६ वर्ष विदेश भास्सिए । मलेसियाको जोहरबारु राज्यको एक कम्पनीमा काम गरेर केही नगद जोडेका सूर्य अहिले आफ्नै माटोमा सुन फलेको देखिरहेका छन् ।
‘परिर्वतन भई दिन फेरिन्छन् भनेर युद्धमा लागियो, कमाउन विदेश पनि भासिए तर केही लागेन अहिले आफ्नै माटोमा सुन्दर सपना देखिरहेको छु,’ सूर्य भन्छन्, ‘मेहनत गर्न कहिल्यै छोडिन, छोड्दिन पनि ।’ उनले भाटीबजार छेउमा पाँच रोपनी जग्गा किनेका छन् । त्यहिं जग्गामा ‘हाईटेक टनेल’ र अन्य ससाना टनेलहरु छन् ।

माछा पाल्नका लागि पोखरी र बंगुर फार्म छ । सूर्यले बर्सेनि लाखौंको तरकारी गलकोट बजार र आसपासका क्षेत्रमा बिक्री गर्छन् । कमन कार्प र ग्रास कार्प जातको माछा पालेर वर्षमा ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी बताउँछन् । प्लास्टिक घरमा फलेको तरकारीले बर्सेनि ४ देखि ५ लाखसम्म घर भित्राउँछ ।

‘पहिले तरकारी अलि बढी फलाएको थिएँ, दुई वर्ष पहिलेबाट माछा र बंगुर पनि सुरु गरें,’ कुँवर भन्छन्, ‘६० लाख रुपैयाँ लगानी गरेको छु, अबको दुई वर्षमा ३५ लाख रुपैयाँ मुनाफा निकाल्छु ।’ ५० वटा विभिन्न जातका माउ बंगुर छन् । हरेक महिना १५ वटा बंगुरका पाठा बिक्री हुन्छन् । एउटा पाठाको ७ हजार रुपैयाँ लिएर उनले बिक्री गर्छन् ।
‘माउ बंगुर बिक्री हुँदा एक लाख बढी पर्छ, काटेर खानेहरुले लाने बंगुर ४०/५० हजारमा बेचिरहेको छु,’ सूर्यले भने, ‘अहिले बिक्री गरेर मुनाफा कमाउने भन्दापनि बढाउनेतर्फ ध्यान दिएको छु ।’ तरकारी, माछा र पाठा बेचेको रकमले मात्रै घर खर्च चलेर बचत पनि हुन्छ ।

‘गलकोट अर्गानिक एग्रिकल्चर एन्ड लाइफस्टक फार्म’ दर्ता गरेर उनले व्यवसायलाई वैध बनाएका छन् । ‘बजारको समस्या छैन, घरमै खोज्न आउनेहरु कति छन् कति,’ उनले भने ‘म आफूले मात्रै कमाउने होइन रोजगारी पनि दिएको छु ।’

फार्ममा काम गर्न एक जना कामदार राखेका छन् । बंगुरको लागि आवश्यक दाना, घाँस, सिस्नो खोजेर ल्याउनेहरुका लागि उनले तौलको हिसाबमा पैसा दिन्छन् । पानी प्रसस्त रहेको र उत्पादनशील माटो भएकाले आफूले चाहेको जस्तै उत्पादन लिन सकेको सूर्यले बताए । अहिले फार्मबाट भइरहेको मुनाफा र आफ्नै माटोमा मिलेको सन्तुष्टिले सूर्यले युद्ध र विदेशमा बिताएका १३ वर्ष खेर गएको भन्दै पछुतो मान्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->