आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कालिका परिसरमा १६० जातका वनस्पति

कालिका परिसरमा १६० जातका वनस्पति


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

बागलुङ/ बागलुङ कालिका भगवती मन्दिर परिसरमा १ सय ६० जातका वनस्पतीको पहिचान भएको छ । मन्दिर परिसरको जंगलमा अध्ययन गरिरहेको वनस्पति विद्को समूहले हालसम्म पहिचान भएका वनस्पतीको विषयमा जानकारी गराएको हो ।

मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १ सय ९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौं वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदै छ ।
मन्दिरमा करिब ४ सय वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले बताए । बोटबिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको टोलीमा सहभागी प्रवीण भण्डारीले बताए । उनी चिनमा वनविज्ञान विषयमा पीएचडी अध्ययन गरिरहेका छन् ।

‘जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जंगलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ,’ उनले भने, ‘हामी अध्ययनको क्रममा छौं, मन्दिरको जंगलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।’ जंगलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।

मन्दिरको अधिकांश भूभाग जंगलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताए । ‘मन्दिरको आकर्षणको रूपमा रहेको जंगललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो,’ उनले भने । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->