बागलुङ/ नेपालभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाइरहेको बेला ८८ वर्षका हरिगोविन्द राजभण्डारीलाई घुम्न जान मन लाग्यो । नाति निलेस राजभण्डारीले संसारकै लामो झोलुंगे पुल घुमाउन लगे ।
घुम्न पाएर राजभण्डारी दंग भए । बागलुङदेखि पाङ जोड्ने अग्लो र लामो पुल घुम्ने उनको चाहना जेष्ठ नागरिक दिवशकै दिन पूरा भयो । छोरानातिको सहारा लिएर लामो यात्रामा निस्कनु परेपनि बजार डुल्ने र पुराना कुरा गर्न उनी अझै जोसिन्छन् ।
जवानीमा उनले सरकारी जागिर खाएका थिए । जागिरको क्रममा धेरै ठाउँ घुमेको अनुभव भएकोले बुढ्यौलीमा पनि घुम्न मन पराउँछन् । सरकारी जागिरबाट पेन्सन भएको पनि ४३ वर्ष भैसकेको छ ।
बागलुङ नगरपालिका २ का हरिगोबिन्दले २०३५ सालमा सरकारी सेवाबाट अवकास भएपछि अहिलेसम्म सक्रिय जीवन बिताएका छन् । हलकाराबाट २००६ सालमा थालेको जागिरबाट उनी २०३५ सालमा सुब्बा पदमा पुगेर पेन्सन निस्केका थिए । उमेरले ८८ वर्ष पुगेपनि राजभण्डारी तन्नेरी जस्तै छन् । सहजै बजार डुल्छन् ।
राजभण्डारीलाई आफ्नो नियमित काम गर्न अप्ठ्यारो छैन । पुराना व्यक्तिहरु खोजेर राजनीति र सामाजिक क्षेत्रका छलफलमा उनी निकै हौसिन्छन् । समकक्षी भेटिँदा उनले नेपालको राजनीति, प्रशासन, कर्मचारीतन्त्र र शिक्षा क्षेत्रमा विकृति भित्रिएको गुनासो गर्छन् ।
जिल्लाकै जेठो विद्यामन्दिर माविमा पढेका राजभण्डारी कक्षा ८ पास गरेका हुन् । ‘बांगे’ गुरुले पढाएका उनी जस्ता युवालाई खोजेर रोजगारी दिइएको थियो । एसएलसी परीक्षा दिन पाल्पा र काठमाण्डौ पुग्नु पर्ने बाध्यताले धेरैले कक्षा ८ बाटै पढाइ छाड्थे ।
२०२० सालबाट मात्र बागलुङमा एसएलसी परीक्षाको व्यवस्था भएको थियो । १९९७ सालमा खुलेको बिद्यामन्दिरमा पढेको थाहा पाएपछि तत्कालीन छोटी अड्डाका बहिदारले उनलाई हलकारा नियुक्त गराएका थिए । पाल्पामा रहेको गौंडाले धौलागिरि अञ्चलको सबै भाग हेथ्र्यो । नियुक्ति पाएपछि गलकोटमा काम गरेका राजभण्डारीले पहिलोपटक ९ रुपैयाँ तलब पाएको अनुभव छ ।
जागिर खाएको एक बर्षपछि मात्र पाल्पा गौंडाका बडाहाकिमलाई भेटेका थिए । उनको काम र मेहेनत देखेर बढुवा पाएर उनले बागलुङसहित पर्वत, पोखरा, तनहुँ, स्याङजा र पाल्पासम्म पुगेर काम गरेको बताए । २९ वर्ष लामो जागिर अवधि सकेर पेन्सन निस्कँदा उनले मासिक १ सय ३६ रुपैयाँ पाउने भए । ‘मासिक २ सय २५ रुपैयाँ तलब थियो, पेन्सन निस्कँदा १ सय ३६ पाउने भएपछि म निस्केको हुँ,’ उनले भने, ‘अहिले मासिक १७ हजार पेन्सन बुझेको छु ।’
सरकारी काममा इमान्दारिता खस्कँदै गएको उनले बताए । ‘पहिला सबै मानिस इमान्दार थिए, जनताको सम्पत्ती र पैसा खादैनथे,’ राजभण्डारीले भने, ‘अहिलेका कर्मचारीले जनताको नगद र जग्गासमेत लुटेर हैरान पारे ।’
राजनीतिक दलहरुले सुशासनको काममा ध्यान नदिँदा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको उनले टिप्पणी गरे । ‘युवालाई विदेश जानै नपर्ने गरी रोजगारी खुलाउनु पर्नेमा भ्रष्ट्राचारमा नेतृत्व फस्न थालेको छ,’ उनले भने, ‘इमान्दारीको राजनीति र समाज समाप्त भएको छ, त्यसैले युवाहरु विदेशिन बाध्य छन् ।’ उनले मालपोत, अदालत र छोटी अड्डामा काम गर्दा जनतालाई छिटो सेवा दिएको अनुभव सुनाए । अहिले ती कार्यालयहरु बढी भ्रष्ट्राचारको अखडा भएको समाचार दिनदिनै पढ्नु परेको टिप्पणी गरे ।
अञ्चलाधीशको व्यवस्था हुन थालेपछि मात्र जिल्लामा अधिकृत तहका कर्मचारीले जिल्लामा काम गर्ने क्रम सुरु भएको उनले बताए । सुब्बा पदमा पुगेकाहरुको गाउँघरमा भव्य स्वागत गर्ने चलन उनले स्मरण गरे । ‘कर्मचारीलाई जनताले दिने सम्मान अहिले अपमान जस्तो भैसकेको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रले आफ्नो पुरानो छबि सुधार्न अब इमान्दारीता देखाएर जनताको मन जित्नुपर्छ ।’
उनको घरमा अहिले ४ पुस्ता बस्छ । छोरा अशोक गोविन्द राजभण्डारी, नाति निलेस राजभण्डारी र पनातीसम्म छन् । छोरालाई निजामति कर्मचारीमै लगाएका राजभण्डारीले नातीलाई भने व्यवसायमा लगाएको बताए । ‘निजामतीलाई हेर्ने दृष्टिकोण पनि नराम्रो भयो, त्यसैले व्यवसाय गर्न लगाएको हुँ,’ उनले भने, ‘पुरानो जमाना जस्तो अहिले छैन ।’





