बागलुङ/ दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाईएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदुरहरु घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो ।
एक बर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण सुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जनाएको छ । चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मंसिर महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो ।
एक वर्षअघि खानीको अध्ययन भैरहेको क्षेत्रका सर्वसाधारणमा समेत संक्रमण देखिन थालेपछि चिनियाँ प्राबिधिक समुह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए । ‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं, अब बाँकी काम केही समयमा सुरु हुन्छ’ अधिकारीले भने ‘कोभिड कम भएको छ, दशैं, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’
तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भैसकेको छ । सुरुङमार्फत जमिनको भित्री भागको ढुंगामाटो संकलन गरी ल्याबमा परीक्षण गर्ने काम भैरहेको अधिकारीले बताउनुभयो । ‘हामीले अबको ६ महिनामा सबै अध्ययनको काम सक्छौं’ उनले भने ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र बिस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ ।’ खानी बिभागले खटाएका भूगर्भ शास्त्री, इन्जिनियर, चीनबाट आएका अध्ययनकर्ताले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका थिए ।
तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । ‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’ अधिकारी भन्छन् ‘अध्ययनको अन्तिम रिपोर्टका आधारमा बाँकी काम अघि बढ्छ ।’ पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।
खानी अध्ययनको काम रोकिएकाले स्थानीयमा आशंका उब्जिएको छ । ठुला ठुला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढी पहिरोको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयको माग छ । ‘सुरुङ खन्दा फालेको माटोले खेतीयोग्य जमिन पुरिएका छन्, घर थर्किए, भत्किए, एउटा सम्झौता भएको छ, खानी चल्यो भने मात्रै त्यो कार्यान्वयन होला हामीले राहत पाईएला’ स्थानीय रविन खत्रीले भने ‘रोजगारी सिर्जना होला, सडक, पानी र बिजुली बन्लान् भन्ने छ, खानी त चल्नै पछ्र्र्र ।’
पुराना खानी र त्यहाँ देखिने धाउको संकेतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि अध्ययनको काम भएको थियो । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउने छ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खनन्को अनुमति पाउने छ ।
स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अबरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः सुरु हुने बानपा–९ तित्याङका वडा अध्यक्ष गणेश थापाले बताए । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित थिए । परीक्षण भैरहेका दुई खानीमा १६ जना स्थानीय कामदार, ४ जना कम्पनीका प्रतिनिधि, ५ जना चिनियाँ प्राविधिक र ५ जना इन्जीनियरले काम गरिरहेका थिए ।





