बागलुङ/ सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनले भाडादर काम गरेर लागू गर्ने निर्णय गरेको छ ।
सोमबार प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बागलुङ बजारदेखि मालढुंगा, कुश्मा, बेनी, कुँडुले, पञ्चकोटसहित गलकोट र बुर्तिबाङ तथा पोखरासम्मका ट्याक्सीको भाडादर, बढेको दरमा लिन पाउने न्युनतम रुपैयाँ काम गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताए । उक्त दरलाई अक्षरस अद्यावधिक गरेपछि पुन बैठक बसेर पारित गरी अस्थायी रुपमा लागू गरिने उनले जानकारी दिए ।
स्थायी रुपमा भाडादर कायम गर्न भने जिल्ला तहमा अधिकार छैन । सरकारले लागू गर्ने भाडादरलाई जिल्ला तहमा समायोजन गर्ने व्यवस्था छ । बागलुङदेखि गलकोट तर्फ जाने जिप र बस तथा बुर्तिबाङदेखि निसीतर्फ जाने सार्वजनिक यातायातले चर्को भाडा असुल गरेको समेत गुनासो आएकोले नियमनका लागि व्यवसायी बोलाएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । ‘यात्री ठगिने, गुनासो आइरहने अबस्था हुन नदिन बैठक बस्यौं,’ कार्कीले भने, ‘अब गुनासो नआउने गरी काम गर्नुपर्छ ।’
लाइसेन्स नभएका र रुट परमिट नभएका गाडिले पश्चिम बागलुङमा यात्री ओसार्ने गरेको तथा उनीहरुले चर्को भाडा लिएको ढोरपाटन यातायात सेवा प्रालिका सचिव नरबहादुर क्षेत्रीले बताए । तर, प्रहरीले भने परमिट नभएका मात्र नभई भएकाहरुले पनि चर्को भाडा लिएको भेटिएकोले नियमनकालागि बोलाउनु परेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
आइतबारदेखि ट्राफिक प्रहरीले पनि अनुगमनलाई बढाउन थालेको जिल्ला प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । ‘यो समस्या बढी पश्चिम क्षेत्रमा देखिएकोले नियमन र अनुगमन बढाउने तयारीमा छौं,’ उनले भने ।
सबै गाडीको पछि पछि प्रहरी दौडेर नहोला, तर नमुनाको रुपमा केही कारवाही गर्ने र नियमित अनुगमन पनि गर्ने उनले बताए । बैठकले प्रस्तावित भाडादर यातायात व्यवस्था समितिको बैठकमा राखेर निर्णय गराउने तथा दसैं, तिहारसहितका चाडपर्वमा भिडभाड हुन नदिने, दुर्घटना न्युनीकरण गर्न नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।





