बागलुङ/ म्याद गुज्रेका सामान बेचेको आरोपमा प्रशासनले बागलुङ बजारको एक खाद्यान्न पसल सिल गरेकोछ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार भएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्री विक्री गरेको भेटेपछि पसल सिल गरिएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरको कँुडुले जाने घुम्तीमा सञ्चालित ‘जालपा सपिङ्ग सेन्टर’ सिल गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताए ।
प्रशासनको अगुवाइमा भएको अनुगमनमा पसलमा बिक्रीकालागि राखिएको खाद्यन्न मध्ये करिव ८० प्रतिशत सामग्री म्याद गुज्रेका फेला परेका थिए । उक्त सपिङ्ग सेन्टरमा राखिएका अधिकांस खाद्यन्न तथा पेयपदार्थ खानकालागि योग्य नभएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सवन्साकुमार महतोले बताए । गाउँ केन्द्रित गरेर सञ्चालन गरिएको पसलको चरम लापरवाही भएको महतोको भनाई छ । ग्रामीण क्षेत्रबाट सामग्री खरिद गर्न आउने सर्वसाधारणले म्याद हेरेर खरिद नगर्ने हुँदा झुक्याउने उद्देश्यले जानाजान जनस्वास्थ्यमा खेलवाड भएको महतोले बताए ।
पसलमा राखिएका सबैजसो खाद्यन्न, पेयपदार्थ, चकलेट गुणस्तरहिन र हानिकारक भएको महतोको भनाई छ । जनस्वास्थ्यमाथि खेलवाड गरी नाफा कमाउने उद्देश्यले म्याद सकिएका सामग्री विक्री गर्ने पसललाई तत्काल एक हप्ताको म्याद दिएर सुधार गर्न निर्देशन सहित सिल गरिएको बिकले जानकारी दिए । अखाद्य बस्तु बेच्ने उक्त पसलका संचालकलाई प्रशासनले एक लाख ५० हजार जरिवाना गराएको छ ।





