बागलुङ – ताराखोला गाउँपालिका वडा नंं २ अर्गल स्थित मौलादेवीको मन्दिरमा बुधवारदेखि सरसफाइ अभियान सुरु भएको छ ।
बाहिरी सरसफाइ सँगै मन्दिर लिप्ने काममा कन्यालाई लगाइएको छ । बिहिवार घटस्थापना देखि यहाँ देवीको नियमित पूजा गरिन्छ । साथै पञ्चबली दिएर दशैभर उत्सव मनाउने, जाग्राम बस्ने जस्ता क्रियाकलाप पनि हुने गरेका छन ।
पाल्पाको अर्गलीबाट झण्डै दुइसयबर्ष अघि बसाइ सरेर आएकोले अर्गलका मगरलाई अर्गली पनि भन्ने गरिन्छ । बसाइ आएपछि उनीहरुले बनाएको मन्दिरमा कन्यालाई लिपपोत गर्न सिकाउने गरिएको थियो । ‘विवाह भएर गएपछि घरको काम जान्नुपर्ने भएकोले कन्यालाई सीप सिकाउने पुरानो चलन अहिले पनि छ’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘यो धार्मिक विश्वाससँगै सामाजिक परिवर्तन र व्यवहारिक ज्ञान पाउने अबसर पनि हो ।’ अप्ठ्यारो र ठूला काम भने पुरुषहरुले गर्दै आएका छन् ।
मौलादेवीमा दशैभर गरिने सबै क्रियाकलापकालागि गाउँलेहरुको पालो समेत बनाइएको छ । कुन काम कसले कतिबेला गर्ने भन्ने पालो बनाइएको घर्तीले जानकारी दिए । बसाइ आएदेखिनै यहाँका मगर समुदायले धेरै प्रकारका चाडपर्व मनाउने देखि गाउँलेको एकताको सन्देश दिने क्रियाकलाप गर्दै आएका छन् ।
घटस्थापनादेखि नियमित पूजा हुने गलकोटको कोत घर र कालीका मन्दिरमा पनि बुधवारदेखिनै सबै तयारी गरिएको छ । नगरपालिका र वडाको अगुवाइमा कोतघर संरक्षणको कार्यक्रम समेत चलाएर महत्व अझै बढाइएको छ । धार्मिक पर्यटनको गन्तव्य बनाउन नगरपालिका तथा प्रदेश सरकारको समेत गरी ५० लाख लगानी भैसकेको छ ।
यहाँ अजंगका खुंंडा र खुकुरी समेत राखिएको छ । गलकोटे राजाहरुको राज्य छँदा कोतघर राज्य संचालन गर्ने केन्द्र थियो । पछि बिस्तारै सर्दै हरिचौरको हालको दरबारमा पुगेको इतिहास छ । गलकोट नगरपालिका वडा नंं ३ का अध्यक्ष बीरजंग भण्डारीका अनुसार दशैमा यहाँ बिशेष पूजा हुने गरेको छ । देशबिदेशमा भएका युवाहरु घर फर्केपछि कोतघर जाने चलन पुरानै हो । यहाँ पुगेर भाकल गर्दा, पूजा गर्दा मनोकांक्षा पुग्ने विश्वास समेत छ । त्यसैले दशैमा पञ्चबली देखि पूजा दिने चलन छ । पूजाका लागि बुधवारबाटै तयारी भैसकेको उनले जानकारी दिए ।
प्रसिद्ध बागलुङ कालीका मन्दिरमा भने केही समय अघिदेखिनै दशैको तयारी भैसकेको छ । मन्दिर वरपर सफाइ गर्ने, मन्दिरमा ध्वजापतका टांग्ने लगायतका क्रियाकलाप गरेर आर्कषक बनाइएको बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
कालीका मन्दिरमा बडादशै र चैतेदशैमा सयौं भक्तजनको ओइरो लाग्ने गर्छ ।
झण्डै ५ सय बर्ष अघिदेखिनै तत्कालिन पर्वते राजाले पाल्पाबाट ल्याएको कालीका मुर्तीलाई यहाँ स्थापना गरेर पूजा गर्न थालेको इतिहास छ । पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । राजकुमारी कालीका देवीको भक्त भएकोले उनले कालिकाको प्रत्यक्ष दर्शन पनि पाउने गरेको जनश्रुति रहेको संस्कृति विद प्राज्ञ प्रेमछोटा बताउँछन् । कालिका देवीलाइ माझकी काली, देवी माइस्थान लगायतका नामले चिनिदैं हालको बागलुङ कालीकाको नाममा रुपान्तरण भएको हो । यी बाहेक जिल्लाका सबै कालीका, मालिका तथा अन्य देवीदेवताको मन्दिरमा घटस्थापनाको तयारी भएको हो । घटस्थापनामा जमरा राखेदेखि विधिपूर्वक देवीको पूजा गरेर बिजया दशमीको दिन पूजा बिर्सजन गर्ने चलन छ ।





