बागलुङ/उच्च अदालत बार एसोसिएसन, बागलुङले गाउँगाउँमा कानूनी साक्षरता अभियान संचालन गर्ने भएको छ ।
झण्डै तीन बर्षदेखि रोकिएको यो अभियान संचालन गरेर कानूनी बिषयमा प्रष्ट पार्ने र समस्या पर्दा कानूनी ज्ञानको अभावले समस्यामा नपर्ने वातावरण बनाउन लागेको वार इकाइ बागलुङका अध्यक्ष अखिलनाथ शर्माले बताए । दशवटै पालिका तहमा पुगेर साक्षरता चलाउन पाठ्यक्रम समेत बनाउने भएको छ ।
२८ औं अधिवेसनबाट निर्वाचित भएको नयाँ समितिले पहिलो बैठकबाटै विभिन्न ११ एजेण्डा अगाडि सार्दै वारलाई चुस्त, सामाजिक क्षेत्रको अग्रणी संस्था बनाउने समेत अभियान थालेको हो । ‘हामीले बारको भूमिकालाई सशक्त बनाउन लागेका छौं, त्यसमा सबैको साथ र सहयोग पनि चाहिन्छ’ शर्माले भने, ‘त्यसकालागि सबै संस्थाको भरोसा योग्य बनाउने कार्यक्रम ल्याएका छौं ।’
बिहिवार बारले पदस्थापन समेत गरेको छ । उक्त अबसरमा नयाँ निर्णयका एजेण्डाको आधारमा काम थाल्ने तयारी भएको सचिव रमेशबहादुर खड्काले जानकारी दिए । बारले काजी गाउँले श्रेष्ठको संयोजकत्वमा मानवअधिकार समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा पुस्तकालय व्यवस्थापन समिति, राम शर्माको संयोजकत्वमा कानूनी साक्षरता मस्यौता समिति समते गठन गरेको हो । बारको भवनलाई व्यवस्थित बनाउने सन्दर्भमा अध्ययन गर्न निर्वतमान अध्यक्ष हरिप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।
त्यस्तै विभिन्न स्थानमा प्रस्तुत गर्ने प्रस्तावपत्र तयार गर्न अधिवक्ता निरन्जनलाल राजभण्डारीको संयोजकत्वमा समिति गठन गरेको बताइएको छ । बारले निर्विरोध र सबै आस्थाका अधिवक्ता मिलाएर नयाँ कार्यसमिति चयन गर्न भूमिका खेल्ने बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेको संयोजकत्वको निर्वाचन समितिलाई पनि धन्यवाद दिएको छ । यस अघि तीन बर्ष सम्म खाता संचालननै नभएकोमा यो समितिले भने निर्वाचित भएको साता दिनमै खाता खोल्ने निर्णय समेत गरेको छ । बारको सल्लाहकारमा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे, गणेशबहादुर कुँवर लगायतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आगामी कात्तिक ५ गते जिल्लाका सबै राजनीतिक दल, उच्च र जिल्ला अदालतका न्यायाधिस तथा मुद्दाका सरोकारवालाहरु बीच वृहत छलफल तथा चियापान समेत गर्ने निर्णय गरेको खड्काले जानकारी दिए । कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु पद्मनाथ शर्मा र कृष्णप्रसाद शर्मा निउरेले बारलाई समाजको अग्रणी संस्था बनाउने, सबैको भरोसायोग्य बनाउने बिषयमा गम्भिर भएर काम गर्न सुझाव पनि दिए ।
बारका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेश खड्काको संचालन, उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु काजी गाउँले, राजुप्रसाद गौतम, भूमिश्वर गौतम, केवश पराजुली सहितका व्यक्तिले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।





