बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलबहादुरको माछा पोखरी सपना…

बलबहादुरको माछा पोखरी सपना…


  • ढोरपाटन संबाददाता
  • असोज २६ २०७८, मंगलबार

बागलुङ/बलबहादुर माझी ६५ बर्षका भए । उनले जान्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदुरी गर्ने भन्ने सिके । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उनलाई बर्षाको भेल होस् वा हिउँदको चिसो, कालीगण्डकीसँग पौँठेजोरी खेल्न सिकायो ।

पढाई, सिप, ज्ञान सबै काली किनारका वरिपरिको वातावरण हो, बलबहादुरको । त्यहिँ जन्मे, त्यहिँ हुर्के र घरजम गरे, अहिले बुढ्यौली पनि त्यहिँ बिसाईरहेका छन् । २०४८ सालमा बागलुङ पोखरा सडक निर्माणका क्रममा माझी बस्ती बिस्थापित भयो । बागलुङ नगरपालिकाकै बाङ्गेचौरमा अस्थायी बसोबास थालेका बलबहादुरको बास फेरियो तर कर्म फेरिएन । झण्डै २७ बर्षपछि पुरानै ठाउँमा बस्ती बनाएर फर्किएपछि पनि उनको कर्म उही हो । बलबहादुरले सन्तानलाई भने दुखै गरेर भएपनि पढाए । अहिले छोराछोरी जागिर गर्छन् तर उनलाई भने आफ्नै पुख्यौलीमा सुधार गर्न मन लागेको छ ।

बलबहादुर मात्रै होईन माझी बस्तीका सबैको कथाव्यथा उस्तै हो । बलबहादुर अहिले आफ्नो कर्ममा सुधार खोजीरहेका छन् । माछासँग जोडिएको माझीको जीवन पद्धतीमा सुधारको महशुस नयाँ र पुराना पुस्ताले गर्न थालेका छन् ।

‘यतैकतै सरकारी जग्गामा माछाको पोखरी भए खोलामा माछा मारेर परिवार पाल्नुपर्ने बाध्यता अन्त्य हुन्थ्यो’ बलबहादुर भन्छन् ‘नदीमा जाँदाको जोखिम कम हुन्थ्यो, पेसा उही तर सुरक्षित होईन्थ्यो ।’ आफ्नो जग्गा नभएकाले माझी समुदायका लागि आफ्नो माछा पोखरी बनाउन समस्या छ ।

आयस्रोतले दैनिकी मात्रै चल्ने भएकाले लगानी गर्न समस्या छ । माझी समुदायले दैनिकी परिवर्तनका लागि व्यवसायीक हुन चाहन्छन् तर समस्याका चाङ छन् । ‘सरकार र हाम्रो बारेमा सोच्नेहरुलाई भन्ने गरेको छु, पोखरीको व्यवस्था गरिदिनुस्’ बलबहादुरले सुनाए ‘अब कालीगण्डकीमा होईन आफ्नै माछा पोखरीमा माछा हुर्केको हेर्न मन छ ।’ उनले नजिकै कालीगण्डकी रहेकाले पानीको समस्या नहुने बताउँछन् । माझी समुदायको बसोबास रहेको बस्तीलाई लायन्सले नमुना बस्ती घोषणा गरेको छ । यो बस्तीमा माछाको पोखरी, मौरी र बाख्रापालन तथा तरकारी खेती लगाउने योजना छ ।

‘मैले समुदायका कुरा सुने, सिप सिकाउने र पोखरी बनाउने कामका लागि पहल थालेको छु’ गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले भने ‘सीपसँग जोडेर आयआर्जन गर्ने दिगो योजना चाहिन्छ ।’ सडक निर्माण पश्चात बिस्थापित भएका माझीहरुका लागि एकिकृत बस्ती निर्माण गरेको बागलुङ नगरपालिकाले पनि समुदायको माग अनुसारको उद्यमका लागि सहयोग गर्ने नगरप्रमुख जनकराज पौडेल बताउँछन् ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा बिस्तारै अघि बढिरहेका माझी समुदायका लागि स्वरोजगारमुलक व्यवसाय उत्तम हुने उमा माझीले बताईन् । यो बस्तीमा १७ परिवार माझी स्थायी रुपमा बस्दै आएका छन्भने केही परिवार अन्यत्रबाट आएका समेत यहाँ बस्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->