बागलुङ – हिन्दु नेपालीको महान पर्व विजयदशमी सुरु भए पछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । तर बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ उति उति मनमा दुःख र पीडा बढ्दै गएको छ ।
तत्कालिन द्वन्द्वको समयमा बेपत्ता श्रीमान् सूर्यप्रसाद शर्माको कुनै खबर नहुँदा उनले दुई दशक यता हाँसीखुसीले दशैँ मनाउन सकेकी छैनन् । बीस वर्ष अघि २०५८ साल माघ १ गते राज्य पक्षले सोधपुछको लागि भनेर शर्मालाई लगेको थियो । त्यस यता परिवार उनको अवस्थाबारे बेखबर छन् ।
‘जतिजति चाडपर्व आउँछ उति–उति बेचैन लाग्छ’ जशोदा शर्माले भनिन्, ‘सबैका परिवारका सदस्य घर आउँदा, मेरो परिवारको बखरसमेत आउँदैन ।’
बेपत्ताको खबर सार्वजनिक नहुँदा परिवारका सदस्य झझल्कोमा बाँचेको शर्माले बताईन। ‘न फोटोमा टीका लगाउन सक्छु, न अवस्थाबारे थाहा छ’ उनले थपिन, ‘सरकार हामीलाई दशैं कहिले आउँछ ।’ उनी श्रीमानको अवस्था थाहा पाउन गुहार माग्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमा समेत पुगिन ।
मानव अधिकार समितिले नेपाल सरकारको नाममा शर्माको परिवारलाई बेपत्ताको अवस्थाबारे जानकारी दिनु, दोषीलाई कारवाही गरी सजाय दिनु, सूर्यप्रसाद शर्मा जीवितै भएमा तत्काल रिहा गर्नु, उहाँको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनु भने पनि सरकारले त्यसको कार्यान्वयन गरेको छैन ।
‘दशैँमा सबै खुशी हुन्छ मेरो परिवारमा पिडा थपिन्छ’ उनले भनिन, ‘सरकारले सत्यतथ्य सार्वजनिक नगर्दा हामी अन्यौलमा प¥यौ ।’
बागलुङको जैमिनी नगरपालिका राङखानीका विमल केसीलाई पनि दशैँको खासै उत्साह छैन । द्वन्द्वकालमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नहुँदा उनलाई चाडपर्वले झनै पीडा थप्ने गरेको छ । बेपत्ता गणेश केसीका दामलको गाउँ घरमा चहलपहल हुँदा छोरा सम्झिएर पटक पटक भक्कानो छुट्ने केसीले बताए ।
द्वन्द्व पीडितले मन बुझाएर चाडपर्व मनाउन सरकार जवाफदेही बन्नुपर्ने अधिवक्ता राम शर्माको भनाइ छ । द्वन्द्व पीडितले न्याय, परिपुरण, वेपत्ताको अवस्था सार्वजनिक र विस्थापितले सम्मानपूर्वक बाच्ने अधिकार सुरक्षित गर्नुपर्नेमा उनको जोड छ ।
बागलुङका द्वन्द्वपीडितले यस वर्षको दशैंमा दण्डहिनतालाई न्यायको लागि पीडितलाई सम्मानपूर्वक, वातावरणको लागि सरकारलाई मानवअधिकार, विधिको शासन, र जवाफदेहिताको लागि जिम्मेवारी प्रदान होस् भन्ने शुभकामना दिएका छन् ।





