दशैं नेपालीको मौलिक चाड हो । नेपालका सबै जातजाति प्रकिृतिका पुजारी र उपाशक हुन् । सिमेभूमेको पूजा गरिने चाड हो, दशैं । संसारमा दशैंसँग मिल्ने अर्को चाड कतै देख्नुभएको छ ? भारतमा दशहरा भनिन्छ, देवीको उपासना गरिन्छ तर नेपालीले जस्तो दशैं मनाइँदैन । हाम्रो दशैं भनेको दुर्गापूजा हो,बलिपूजा हो । भारतमा त्यस्तो हुँदैन ।
दशैं भन्नासाथ यहाँ बलि जोडिन्छ । दशैं हामी पहाडियाले शक्तिको उपासना, हतियारको पूजा गरेर मनाउने चाड हो । यो रामको अयोध्या विजयको कथाभन्दा फरक संस्कृति हो । खासमा यो शक्तिको उपासना हो र शक्तिको उपासना भनेको यो मेरो व्यक्तिको पूजा हैन, समुदायको पूजा हो ।बलिपूजा भनेको आदीम हो ।हिन्दुमा मात्र नभएर बौद्ध धर्मअन्तर्गत ब्रजयानी बौद्ध परपम्रामा छ । यसमा बज्र महारोशनको पूजा हुन्छ ,चक्रसम्पर्कको पूजा हुन्छ । त्यसमा बलि पूजा हुन्छ । किनभने बज्रयानीहरुले अष्टमात्रिकालाई पनि सकारेका छन् । अष्ट महाविद्यालाई पनि सकारेका छन् । अष्टमात्रिका भनेको शैवतन्त्र अन्तर्गत हो । दशमहाविद्या भनेको पनि शैवतन्त्रअन्तर्गत हो । शैवतन्त्र र बौद्धतन्त्र एकाकार भएको अवस्था हो, यो । अब यहाँ पलाञ्चोक भगवती, भद्रकाली, मनकामनामा बज्राचार्य पुजारी छन् । शोभा भगवतीमा पनि बज्राचार्य पुजारी छन् । नेपालका सबै मुख्य शक्तिपीठहरुमा बज्राचार्य पुजारी छ । मनकामनामा नित्य पूजा गर्ने मगर हो । नैनित्यिक पूजा गर्ने, कार्तिकमा र वैशाखमा पर्छ यो, त्यहाँ ढोवबहालका बज्राचार्य आएर पूजा गर्छ । त्यहाँ पनि शैवतन्त्र अनुसार पूजा हुने हो । अहिले राँगाको बलीको सट्टा कुष्माङ्ग ( कुभिण्डो)को बलि चलाउने चलन पनि आएको छ । अहिले नरिबलको बलिको चलन आएको छ । बिस्तारै बली गर्न हुँदैन भन्ने आएको छ । बलि छँदै थिएन भन्ने पनि छन् । बलि छँदै थिएन शास्त्रमा भन्नेहरु मुर्ख हुन् । बलि थियो, शास्त्रमा त्यो थियो । तर, देश, काल परिस्थिति अनुसार बलि गर्न हुँदैन भन्नेहरुको मत बढ्दै बढ्दै आएको छ, त्यसलाई स्वागत गर्नुपर्छ । कोतको मौलो भन्नासाथ बलि हो । हरेक कोतमा मौला हुन्छन् । ती मौलाहरु हाम्रा सांस्कृतिक धरोहर हुन् । त्यसैले दशैँ हाम्रो सांस्कृतिक पर्व पनि हो । बिस्तारै समयानुकुल स्वागत गर्दै जाने हो, सुधार हुँदै जाने हो ।
सेतो टीका
हिजो हाम्रो क्षेत्रमा अबिर पाइँदैनथ्यो । बलिपछि त्यही रगत मुछेर देवीको प्रसादको रुपमा अक्षता लगाउने गरिन्छ भने दशैँको दिनअविर नपाउँदा, दही मुछेर टीका लगाउने चलन चलेको हो । पछि अबिर पाएपछि कसैले अबिर लगाउन थाले ।
जमरा
जमरा त कृषिको प्रयोग हो । गाउँघरतिर जमरा नपाएकाले मकैको पनि राख्छन् । तर, मकैको राखे पनि मकरा त भन्दैन, जमरा नै भन्छन् । यव भनेको संस्कृतमा जौ र जौको अंकुराबाट जमरा भएको हो । जमरामा कस्तो शक्ति छ भने अहिले मर्निङ वाक जानेले जौको जुस खान्छन् । दशैं नमान्नेहरु पनि जौको जमरा उमारेर जुस खान्छन् । जमराले सुगर डाउन हुन्छ, प्रेसर कन्ट्रोलमा आउँछ भन्ने कुरा छ । हामीले तीतेपाती र जमरा मिसाएर लगाउँछौँ नि, पाती पनि एण्टिब्याक्टेरिया हो । जमरा र तीतेपाती मिसाएर लगाउनाले सुगर डाउन गरेको छ, प्रेसर मिलाएको , यो हर्बल ओखती हो ।
( नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश)




