पोखरा/ सडक विभागले चालु आर्थिक वर्ष २०७८÷७९ मा थप चारवटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउने भएको छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणको लागि अध्ययन हुनेछ ।
पूर्वाधार विज्ञहरुले समग्र राष्ट्रिय यातायात सञ्जाल प्रणालीको गुरुयोजना तयार नगरी जथाभावी सुरुङमार्ग बनाउन नहुने बताउँदै आएपनि सरकारले घुम्ती सडकयुक्त पहाडमा सुरुङमार्ग बनाइहाल्ने गरी योजना ल्याउने क्रम रोकिएको छैन ।
अर्बौं लगानी हुने सुरुङमार्ग केही किलोमिटर छोट्याउन कति आवश्यक हो भनेर ट्राफिक सर्भे पनि नगरी लहडका भरमा नेताहरूले भनेका स्थानमा अध्ययन गराउने क्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।
सडकभन्दा १० गुणा बढी महँगो हुने भएकाले ३ देखि ५ भागसम्म सडकमार्गको दूरी छोटिन्छ भने मात्रै सुरुङमार्ग निर्माणको लागि योग्य मानिन्छ । तर, यस्ता पक्ष विचार नगरी सुरुङमार्गको अध्ययनको योजना चुनावी एजेन्डाका लागि विभागमाथि थोपार्ने क्रम बढेको विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीले बताए ।




