आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु


  • ढोरपाटन संबाददाता
  • असोज ३१ २०७८, आइतबार

पोखरा/ पछिल्लो २४ घण्टामा विभिन्न सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका -३ कर्हवा चोकमा प्र.३.०२.०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ लादेस्थित सडकमा प्रदेश ०२.००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका-११ बस्ने १८ वर्षीय शुशिल रावतलगायत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, टिकापुर नगरपालिका-५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ लामिबगरस्थित सडकमा ना.१ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा काठमाडौं महानगरपालिका-१६ गोदावरी बस्ने ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोविन्दपुर बस्ने ५० वर्षीय रामसनही राम छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सुमो चालक सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका-५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्दीप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था गम्भीर छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, खजुरा गाउँपालिका-३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका.४ गाउँ बस्ने ४५ वर्षीया प्रेमकला सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->