शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पुरानै लयमा फर्किदै छ बेनीको बजार

पुरानै लयमा फर्किदै छ बेनीको बजार


  • धु्रबसागर शर्मा
  • कार्तिक ७ २०७८, आइतबार

म्याग्दी /
‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल……’

चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड– १९ को संक्रमण दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ ।
म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन, ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएन ।

१८४३ सालपछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट–तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार बिस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ ।

कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो । तर, गत भदौदेखि संक्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल सुरु भएको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
कोभिड– १९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीय स्थलहरुमा असोज सुरु भएपछि पर्यटकहरुको भीड लाग्न थालेको छ । बेनी बजारमा मायालुको जोडी देखिन थालेका छन् । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतीक्षा गरिरहेका छन् ।

१८४३ सालसम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उनले जानकारी दिए ।
पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

उनका अनुसार १८४३ सालपछि मात्र बेनी बजारमा बस्ती बिस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बाग्लुङ–मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि बस्ती बिस्तार हुनेक्रम बढ्दै गएको उनको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै क्रंक्रिट नै क्रंक्रिटका भव्य घर ठडिएका छन् । अति महंगो बजारमध्येको बजार बन्न पुगेको छ –बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्र यहाँका व्यवसायीहरुले ठूलो लगानी गरेका छन् ।
बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ रेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्यांक अनुसार दुई हजार घरधुरी र सात हजार जनसंख्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->