म्याग्दी / भोजभतेर र रसरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलनविपरीत म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी बनाएर जन्मदिन मनाएका छन् ।म्याग्दीको बेनी नगरपालिका २, बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गीय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा वरपिपलसहितको घुमाउने चौतारी बनाएका हुन् ।
‘जन्मदिनमा साथीहरु बोलाउने, पार्टी गर्ने,अनावश्यक खर्च गरेर क्षणिक रमाइलो गर्नुभन्दा पछिसम्म सम्झना होस् भनेर सानै काम गरेको हुँ,’ रिजालले भने ।उनले चौतारी बनाउन ३ दिन लागेको सुनाए ।
सार्वजनिक स्थलमा निर्माण गरिएको सो चौतारीले बटुवा,सर्वसाधारण र विद्यार्थीहरुलाई निकै सुविधा पुग्ने स्थानीय क्षेत्रबहादुर कटुवालले बताए । जन्मदिन,आफ्ना पितृहरुको श्राद्धको दिन र अन्य कुनै मांगलिक अवसरमा अनुत्पादक काममा धेरै रकम खर्च गर्नुभन्दा यस्तो परोपकारी र सामाजिक कार्यमा खर्च गर्दा सवैलाई सुविधा पुग्ने उनले सुनाए ।पछिल्लो समय म्याग्दीमा वरपिपल रोप्ने,चौतारी पोखरी बनाउने,जन्मदिन वा मांगलिक कार्य गर्दा दुःखी,गरिब र असहायहरुलाई सहयोग गर्ने परम्परा विकास हुँदै गएको छ ।





