तनहुँ/ आँबुखैरेनीले मात्रै महिला अध्यक्ष प्राप्त गरेका छ । ४४ वर्षीया मीना अधिकारी आँबुखैरेनी गाउँ कमिटिको अध्यक्ष बनेकी हुन् । उनको अध्यक्षतामा ५३ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ ।
यसअगाडी सर्वोच्च अदालतको निर्णय अनुसार नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया भंग भएपछि एमालेको गाउँ कमिटी अध्यक्ष बनेकी उनै अधिकारीले फेरि पार्टी हाँक्ने अवसर दोहोरिएको छ ।
गाउँ कमिटिको अध्यक्ष बनेकी अधिकारीले महिला नेतृत्व पार्टी हाँक्न सक्षम छन् भन्ने पुष्टि हुने गरी काम गर्ने बताउँछिन् । ‘मसँग आँट र साहस दुबै छ । अनुभव पनि बटुलेकी छु । मैले गरेको कामले महिलाले नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हुनेछ’,उनले भनिन् ।
महिलालाई नेतृत्व दिन पार्टी पंक्तिले कन्जुस्याँई गर्ने गरेको उनी बताउँछिन् । ‘अहिले सम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई नेतृत्व सहजै दिँदैनन् । एक त हामीलाई घरपविारबाटै असाध्यै कठीन छ, सामाजिक, आर्थिक हिसाबले अफ्ठ्यारो छ । त्यही चुनौती पन्छ्याएर राजनीतिमा लागेपछि पनि पार्टीको अन्तारिक राजनीतिमा फेरि संघर्ष गर्नुुपर्ने हुन्छ’, उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पु¥याउन आफुले भुमिका खेल्ने उनको भनाइ छ ।
पार्टीलाई थप सशक्त बनाउने अधिकारीले बताइन् । बन्दीपुर गाउँपालिका–१ नाहालमा जन्मिएकी अधिकारी कक्षा ९ मा पढ्दा अनेरास्वीयु छैठौँमा प्रवेश गर्दै विधार्थी राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४६÷४७ को जनआन्दोलनमा सहभागी भएको बताउने अधिकारी २०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन् ।
एमालेको गाउँ तथा नगर अधिवेशनबाट जिल्लामा कार्यकारी पदमा न्यून संख्यामा महिला सहभागिता देखिन्छ । शुक्लागण्डकी नगरपालिकामा बिष्णुमाया ढकाललाई सर्वसम्मत उपसचिव बनाइएको छ । भानु नगरपालिकामा रुपा लामा उपसचिव बनेकी छन् । यस्तै व्यास नगरपालिकामा पनि सीता पाण्डे उपसचिव बनेकी छन् ।एमालेको ८२ वडामा अधिवेशन सकिँदा शुक्लागण्डकी नगरपालिका–९ मा गीत महत र आँबुखैरेनी गाउँपालिका–२ मा सम्झना विक मात्र वडा कमिटी अध्यक्ष बनेका हुन् ।





