काठमाण्डौँमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा पोखरा ११ समूह जीको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी लिग अन्तरगत पोखरा ११ भेट्रान्सले आफ्नो दोस्रो खेलमा झम्सिखेल भेट्रान्सलाई ६–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै नकआउट चरणमा प्रवेश गरको हो ।
पोखरा ११ को जितमा कप्तान इश्वर गुरुङले २ गोल गरे । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । यस्तै महेन्द्र गुरुङ, नरेन्द्र गुरुङ, दिलिप गुरुङ र बब्लु गुरुङले समान १–१ गोल गरे ।
जितसंगै पोखरा ११ ले स्पष्ट ३ अंक जोड्न सफल रह्यो । समूह जी मा रहेको पोखराले यस अघि पहिलो खेलमा कुमारी भेट्रान्सलाई ७–० ले हराएको थियो । पोखराको २ खेलबाट ६ अंक रहेको छ ।
लिगमा देशभरका २१ भेट्रान्स टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख ५० हजार रुपैँया सहित दुबै टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





