बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङमा तल्लो तहसम्म ५ दलीय मोर्चा : सुरुमै पृथ्वीसुब्बामाथि प्रहार

लमजुङमा तल्लो तहसम्म ५ दलीय मोर्चा : सुरुमै पृथ्वीसुब्बामाथि प्रहार

यसअघिका चुनावी परिणामले झस्केका पृथ्वीसुब्बा सम्भावित ५ दलीय गठबन्धन भत्काउँदै वाम गठबन्धन निर्माण तथा आफ्नो चुनावी क्षेत्र संरक्षण अभियानमा ।


  • ढोरपाटन संबाददाता
  • कार्तिक १३ २०७८, शनिबार

पोखरा/ पञ्चायतकालीन होस् वा त्यसपछिका चुनाव ! गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ आफ्नै बलबुताले चुनावमा होमिए । लमजुङ र गण्डकीकै ‘आशालाग्दा’ यी नेताले २०६४ सालको संविधान सभा र २०७४ सालको प्रदेश सभा चुनावमात्रै जितेका छन् । हारको श्रृंखला बढेपछि कुनैबेला लमजुङमा भनिन्थ्यो,‘पृथ्वीसुब्बालाई चुनाव फाप्दैन ।’

२०६४ सालको चुनाव जितेर पर्यटनमन्त्रीसमेत बनेका उनले त्यसपछिको चुनाव भने ‘लो प्रोफाइल’का कांग्रेस उम्मेदवार चन्द्रबहादुर कुँवरलाई सुम्पे । भला, अन्तर झिनो थियो । ६७२ मतको झिनो हारले उनलाई झस्कायो । त्यही कारणले हुनुपर्छ, संघीय चुनाव वा समानुपातिकको सुरक्षा छाता नओडेका उनले लमजुङबाटै ‘वाम गठबन्धन’ को नारा लगाउन सुरु गरे । स्थानीय तहको चुनावमा देशैभर कांग्रेस र माओवादीबीच तालमेल हुँदा उनकै पहलमा लमजुङमा वाम गठबन्धन सम्भव भयो । आफ्नो निर्वाचन क्षेत्र जमिन्द्रमान घलेको जिम्मामा सुम्पेर प्रदेशको मुख्यमन्त्रीको आकांक्षीको रुपमा उनले ७ हजार ९८६ मतले विजयी बने । उनी प्रदेश सभा सदस्यको चुनाव लड्दैगर्दा उनले नै सुरु गरेको वाम गठबन्धनको अभियानलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पच्छ्याइसकेका थिए । वाम गठबन्धनले सबैभन्दा उत्साही पृथ्वीसुब्बा नै थिए । त्यही गठबन्धनबाट उनी सहजै गण्डकीको मुख्यमन्त्री बने । झण्डै साढे ३ वर्ष सरकार चलाए । एकीकृत बनेको माओवादी केन्द्र र एमालेबीच छुट्टाभिन्ना भएसँगै उनको कुर्सी डग्मगायो ।अन्ततः उनी अविश्वासको प्रस्ताव सामना गर्दै मुख्यमन्त्रीबाट विदा भए ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङ आउँदो कार्यकालमा पनि मुख्यमन्त्री नै बन्न चाहन्छन् । आफू निकट कार्यकर्तासँग उनले भन्ने गरेका छन्,‘म केन्द्रीय मन्त्री भइसकें,प्रधानमन्त्री हुन सकिँदैन, कम्तिमा सरकारको कार्यकारी प्रमुख भएर काम गरौं भन्ने हो ।’यो चाहना पूरा हुनको लागि उनले आउँदो चुनाव जित्नैपर्छ । तर, हिजोका वामगठबन्धनका सूत्रधार गुरुङले सोचजस्तो छैन । यतिबेला माओवादी केन्द्रमात्रै नभएर एमालेकै माधवकुमार नेपाल समूहले छुट्टै पार्टी गठन गरिसकेको छ । माधव समूहलाई ‘सानो झुण्ड’ को उपमा दिएपनि विभाजनले आफ्नो गति रोकिन्छ भन्नेबारे उनी जानकार छन् ।त्यसले उनी यदाकदा,वाम गठबन्धनकै पक्षमा आफूलाई उम्भ्याउँछन् । आलोचनाकै बीचमा पनि वाम शक्ति एक हुनुपर्ने तर्क गर्छन् ।

सत्ता गठबन्धनका नेताहरुले आउँदो चैतभित्रै स्थानीय, प्रदेश र संघको चुनाव गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । एमालेसहितका सबै दलहरुका गतिविधि घुमाउरो तरिकाले चुनाव लक्षित छन् । पृथ्वीसुब्बा स्वयं लमजुङको बस्तुस्थितिबारे जानकार छन् । अवस्था यही रहे, आउँदो चुनाव आफ्नो लागि कठीन हुने बुझेका उनीसामु दुईवटा चुनौती छन्–एउटा एमालेलाई बलियो बनाउनु र अर्को आफ्नो चुनावी क्षेत्रको संरक्षण गर्नु । यही चुनौतीका बीच उनले लमजुङमै पुगेर भनेका छन,‘लेखेर राख्नुस्, यो गठबन्धन आगामी निर्वाचनसम्म जानै सक्दैन । हामी वाम गठबन्धन बनाएर निर्वाचनमा जान तयार छौं, गठबन्धन प्रचण्ड र माधवको भूमिकामा भर पर्छ ।’

माओवादी केन्द्र र माधव नेपालको नयाँ पार्टी नेकपा एसलाई गाली गर्नुपर्ने बाध्यतामा रहेका पृथ्वीसुब्बाले लमजुङमा पछिल्लो समय स्थानीय तहसम्मै ५ दलीय गठबन्धन विकास भएपछि यो अभिव्यक्ति दिएका हुन् ।

अहिले ५ दलीय गठबन्धनको सरकार छ । केन्द्र र प्रदेशमा यही गठबन्धनको सरकार रहेपनि स्थानीय तहसम्म भने गठबन्धन निर्माणको पहल भएकै थिएन । तर, पालिका तहका एमाले अधिवेशन गर्न जिल्ला गएकै दिन लमजुङमा अनौठो भयो । सत्तारुढ ५ दलका नेताहरु बैठक बस्यो र आउँदो चुनावसम्मै तालमेल गरेर जाने विषयमा छलफल अगाडि बढाउने निर्णय ग¥यो । पृथ्वीसुब्बालाई नै निशाना बनाउँदै उनीहरुले प्रवृत्तिका विरुद्ध लड्न वडा तहसम्मै गठबन्धन बनाउन आवश्यक रहेको ठहर पनि बैठकले गरिदियो ।

नेपाली कांग्रेस लमजुङका सचिव हरिप्रसाद बराल, माओवादी केन्द्र लमजुङका इन्चार्ज पारसमणि पौडेल, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज डा. बालकृष्ण बराल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष नरेन्द्रबहादुर गुरुङलगायत नेताहरुको मंगलबारको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘गठबन्धनको तर्फबाट जिल्लाका आठवटै पालिका एवं सबै वडाहरुमा सहयोग समन्वय गर्ने तथा सबै पालिकाहरुमा ५ दलीय गठबन्धनका तर्फबाट पदाधिकारीको संयुक्त बैठक बसी थप कार्ययोजना बनाइ अघिबढ्ने निर्णय गरियो ।’

माओवादी केन्द्र लमजुङका इञ्चार्ज पारसमणि पौडेलले गठबन्धनलाई मजबुत बनाउने र आउँदो चुनावसम्मै मिलेर जाने विषयमा कुरा भएको बताए । एमालेप्रति इंगित गर्दै पौडेलले भने,‘गलत प्रवृत्तिका विरुद्ध सहकार्य गरेर लडाइँ लडेको हो, आन्दोलनमा एकै ठाउँमा भएका दलहरुको सहकार्य निरन्तर छ भनेर बैठकले सन्देश दिएको छ ।’

नेकपा एकीकृत समाजवादीका इन्चार्ज डा. बालकृष्ण बरालले आगामी दिनमा निरन्तर गठबन्धन बैठक बस्ने बताए ।‘हामी निर्वाचनसम्म गठबन्धनका रुपमा अघि बढ्छौं’, बरालले भने, ‘संविधान र लोकतन्त्रलाई सवल बनाएर लैजान हामी मिलेर जानुपर्छ ।’उनले पनि एमालेसँग आउँदो चुनावमा तालमेलको सम्भावना नरहेको बताए ।

माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय चुनावमा समेत गठबन्धन तालमेल गर्न इच्छुक देखिएपनि कांग्रेसका जिल्ला नेताहरुले भने चासो दिएका छैनन् । गठबन्धन बैठकमा सहभागी कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले चुनावका विषयमा छलफल गर्ने बेला नभएको बताए । उनले केन्द्रको निर्णय अनुसार अघि बढ्नेसमेत बताए । कांग्रेस लमजुङका क्षेत्रीय सभापति वृषराज गुरुङका अनुसार कांग्रेस लमजुङको अधिवेशनबाट आउने नेतृत्वले नै गठबन्धनबारे निर्णय गर्नेछ ।

‘५दलीय गठबन्धन चुनावसम्मै रहला–नरहला तर लमजुङमा पृथ्वीसुब्बामाथि आक्रमण हुन थालेको चाहिँ सत्य हो’,एक कांग्रेस नेताले भने,‘ हामी यो पटक एक्लै लड्ने मुडमा भएको लुकाउने विषय हैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->