
स्याङ्जा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेश सरकार जनताको साथमा रहेको बताएका छन् । देशको पहिलो पर्यटकीय गाउँ आँधिखोला गाउँपालिका १, शिरुबारीमा बुद्ध शालिकको शिलान्यास गर्दै उनले सरकारमा आएको छोटो समयमा धेरै उपलब्धि हासिल गरेको दाबीसमेत गरे ।
चार वर्षसम्म रहेको सरकार हटेर एकैचोटि नयाँ सरकारले बजेट ल्याउँदा केही समस्या रहेपनि अबको बाँकी समयमा पुरानो सरकारले भन्दा धेरै गरेर देखाउने मुख्यमन्त्री पोखरेलले दाबी गरे । ‘नयाँ सरकार आउने बित्तिकै पाठेघर क्यान्सर भएका महिलालाई निशुल्क उपचार, कोभिडबाट मृतक परिवारलाई ५० हजार र मृतकका बालबच्चालाई मासिक पाँच हजार दिने, प्राकृतिक विपत्तिलाई राहत दिने निर्णय भयो,’ उनले भने, ‘छोटो समयमै कामको मूल्यांकन जनताले गर्नेछन् ।’
प्रदेशको आर्थिक आर्जनको आधार पर्यटन कोभिडका कारण धरासाही भएको बताउँदै मुख्यमन्त्री पोखरेलले चैतसम्म गण्डकी प्रदेशका नागरिकले पूर्ण खोप पाउने जानकारी दिए । युवा विदेशिने सरकारको समस्या भएको बताउँदै उनले भने, ‘पर्यटनको माध्यमबाट युवालाई रोजगारी सिर्जना गरी विदेशिने समस्या सामाधान गर्छौं ।’
सामाजिक अभियन्ता स्व क्याप्टेन रुद्रमान गुरुङको देनले देशमा होमस्टे सुरुआत गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले शिरुबारीबाटै देशभर होमस्टे फस्टाएको सुनाए । ‘जातीय विभेद अन्त्य, स्वास्थ्य सेवा, शिक्षा सरकारले दिनुपर्ने विपीको सपना अहिलो पूरा हुँदै गएको हो । शिरुबारीमा त्यो मैले पाएँ,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले शिरुबारी आउने क्रममा ठेकेदारले काम नगर्दा पुल बाटोमा समस्या देखिएको बताउँदै काम नगरेका ठेकेदारलाई कारबाही गरिने बताए । सेतीदोभान शिरुबारी सडक एक वर्ष भित्र धुलो नरहने र पुल पनि बनेर सकिने मुख्यमन्त्री पोखरेलेको भनाई थियो । बुद्धको शालिकको शिलन्यास गरेर भारी बोकेको बताउँदै उनले भने, ‘अहिले केही र आगामी बजेटमा केही रकम विनियोजन गरेर पूर्णता दिइन्छ ।’
कार्यक्रममा शिक्षा संस्कृति तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले वर्तमान सरकारले गरेको प्रदेशको विकासको क्रममा कसैले रोख्न नसक्ने बताए । कानुन संचार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा, बिना विभागीयमन्त्री दोबाटे विक, प्रदेश मुख्य सचिव दामोदर रेग्मी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, उर्मिला गुरुङ, बबर सिहँ, गुरुङ, लगायलते बोलेका थिए । ३० मिटर लम्बाइ र चौडाइ भएको र ६० फिट उचाइको बुद्धशालिक तीन करोडको लागतमा निर्माण हुने उर्मिला गुरुङ जानकारी दिइन् ।





