बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सुल्झिएन समस्या, समयमै जहाज नउड्ने !

सुल्झिएन समस्या, समयमै जहाज नउड्ने !

आयोजनाले भन्यो : असारअघिसम्म ‘उडान’को कल्पना पनि गरेका छैनौं ।


  • विकाश रोका मगर
  • कार्तिक २० २०७८, शनिबार

‘त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुनेथियो । सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो ।’

पोखरा/ पुस मध्य अर्थात् अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालन नहुने भएको छ । उडानका लागि विमानस्थल आयोजनाले औंल्याएका अवरोधहरु समाधान हुन नसक्दा उडान मिति पछि धकेलिने भएको हो ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८५ प्रतिशत भौतिक पूवार्धार निर्माण पूरा भइसकेको छ । उक्त विमानपुसको मध्यदेखि आन्तरिक उडान र बैशाखदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने विमान स्थानान्तरण तथा सञ्चालनका लागि गठित टोलीको तयारी थियो । तर, सिर्जित समस्याहरु समाधान हुन नसक्दा समयमै उडान सुरु नहुने निश्चित भएको छ ।

‘सबै समस्याहरु ज्यूँका त्यूँ छन् । प्रक्रियागत रुपमा ढिलाइ हुनेभयो । अब के हुन्छ हेरौं,’ पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले ढोरपाटनसँग भने । उनी नागरिक उडड्यन विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदल संयोजकसमेत हुन् ।

समय नजिकिँदै जाँदासमेत विमानस्थल आयोजनाले देखाएका समस्याहरु समाधान हुन सकेका छैनन् । उक्त विमानस्थलमा उडान सुरु गर्न नजिकै रहेको ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडाल, विमानस्थलको बाढीपहिरो निकासगायतका कारण समस्या उत्पन्न हुने आयोजनाले बारम्बार बताउँदै आइरहेको छ ।

हाल पोखरा महानगरले १४ नम्बर वडाको सेती किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । निर्माणाधीन विमानस्थलदेखि करिब २ किलोमिटरमात्रै दूरीमा रहेको ल्यान्डफिल साइट उडानका लागि मुख्य समस्या हुने आयोजना प्रमुख विनेश मुनकर्मीले बताउँदै आएका छन् । ल्यान्डफिल साइटमा उड्ने चराका कारण ‘बर्ड हाजार्ड’ हुने र यसले उडानमात्रै नभई मानवीय क्षतिसमेत हुन सक्ने उनले औंल्याएका छन् ।
उक्त ठाउँको ल्यान्डफिल साइट सार्ने मुख्य जिम्मेवारी पोखरा महानगरको हो । विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले समेत आउँदो अंग्रेजी नयाँ वर्ष जनवरी १ (पुस १७) गतेदेखि आन्तरिक उडान परीक्षण गर्ने योजनामा थियो ।

यद्यपि समयमै उडान सुरु गर्न र देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण समिति बनाएको छ । कात्तिक ८ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटनमन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् ।

गठित समितिले समस्याहरु सुल्झाउन सहजीकरण गर्नुका साथै सरकार र स्थानीय बीच पुलको कामसमेत गर्ने खड्काले सोमबारको पत्रकारसम्मलेनमार्फत जानकारी दिएका छन् । ‘एअरपोर्ट सञ्चालन भइसकेपछि एअरलाइन कुरियरको व्यवस्था, समायोजन पनि गर्छ । डाँडाकाट्ने, बाढीपहिरो र पानीका बहावले ल्याउने समस्या पनि समाधान पनि गर्छ,’ उनले भने, ‘समितिले सरकार र आयोजनाका बीचमा एउटा ब्रिजको काम गर्छ । प्रदेश सरकारको भूमिका समितिले निमाउनेछ ।’

नयाँ ल्यान्डफिल साइट भेटियो, विवादमुक्त भएन

विमानस्थल आयोजनाले बारम्बार ताकेता गरेपछि महानगरले अन्तिम समयमा आएर ल्यान्डफिल साइटको विकल्प खोजेको छ । तर, खोजिएको विकल्पसमेत विवादमुक्त छैन । बस्तीभन्दा माथि ल्यान्डफिल साइट र पानीको मुहानमा समेत क्षति पुग्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।

महानगरको ५२ औं कार्यपालिका बैठकले पोखरा १६ र २० वडाको बीचमा पर्ने पस्मराङ क्षेत्रलाई नयाँ ल्यान्डफिल साइट तोकेको थियो । महानगरले पोखरा १६ वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ल्यान्डफिल साइटको जग्गा खोजवीन समिति गठन गरेको थियो । असार १८ गते गठित सोही समितिको प्रतिवेदनको आधारमा पस्मराङ पोखराको नयाँ ल्यान्डफिल साइट छानिएको हो ।

पस्मराङमा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णयसँगै त्यहाँका स्थानीय संघर्ष समिति नै बनाएर आन्दोलित बनेका छन् । यता, पोखरा महानगरले समेत संघर्षरत स्थानीयसँग वार्ता गर्न समिति गठन गरेको छ । ५२ औं कार्यपालिका बैठकले नै पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति गठन गरेको छ ।

संयोजक पौडेलसमेत तोकिएकै समयमा ल्यान्डफिल साइट स्थानान्तरण हुनेमा विश्वस्त छैनन् । विमानस्थलमा पुसमध्यदेखि नै आन्तरिक उडान सुरु हुने र त्यसअगावै कुनै पनि हालतमा पस्मराङमा ल्यान्डफिल सार्न तत्काल सम्भव नरहेको लाई बताए ।

‘अहिलेलाई ठाउँमात्रै चुनिएको हो । त्यहाँ थप अध्ययन हुनै बाँकी छ । स्थानीयको सहमति लिनै बाँकी छ,’ उनले भने, ‘फेरि हामी(पोखरा महानगर)ले भनेरमात्रै हुने होइन । प्रदेश, केन्द्र सबैको सहमति चाहिन्छ ।’ उनले केन्द्रले सहमति दिएपनि जग्गा मुआब्जाका कारण ढिलाइ हुने देखिएको सुनाए ।

स्थानीयको विरोधझैं अहिले तोकिएको नयाँ ल्यान्डफिल साइट वरिपरि पानीका स्रोत भएकाले त्यसलाई मास्न नहुनेमा संयोजक पौडेल पनि सहमत छन् । ‘तल पानीको मुहान, माथि फोहोर कसरी राख्ने ? रसायनयुक्त पानी खाऊ भनेर कसरी भन्न सकिन्छ !’ उनले भने, ‘पानीको स्रोत बचाउन कुनै मास्टरप्लान नगराई सम्भव नहुने देखियो ।’ उनले विज्ञ टोली गठन गरेर त्यसको अध्ययनपछिमात्रै ल्यान्डफिल साइट सार्न उत्तम हुने बताएका छन् ।

ल्यान्डफिल साइटबारे त्यहाँका स्थानीयहरु विभाजित रहेकाले पनि असन्तुष्ट पक्षसँग आफूहरुले वार्ता गरेर विवाद टुंग्याउने पौडेलले बताए । ‘अहिले सिधै गएर फोहोर फाल्ने होइन, फोहोर वर्गिकरण गरेर निश्चितमात्रै त्यहाँ लैजाने हो,’ उनले भने, ‘त्यहाँ ल्यान्डफिलमात्रै जाँदैन, सँगसँगै विकासका पूर्वाधार पनि पुग्ने हो ।’ उनले ल्यान्डफिलका लागि पस्मराङभन्दा अर्को ठाउँ उपयुक्त विकल्प नभएको सुनाए ।
ल्यान्डफिल साइटका लागि करिब २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र सो जमिन पस्मराङमा उपयुक्त भएको महानगरको दाबी छ । महानगर प्रवक्ता धनबहादुर नेपालीका अनुसार त्यहाँको पौने २ सय रोपनी व्यक्तिगत र बाँकी सरकारी जग्गा ल्यान्डफिल साइटका लागि प्रयोग हुनेछ ।

सम्बन्धित पक्ष जिम्मेवार भएन : गौतम

सम्बन्धित पक्षले आफ्नो जिम्मेवारी पूरा नगर्दा समयमै योजनाअनुरुप उडान हुन नसक्ने देखिएको पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले बताएका छन् । ‘हामीले भनेको समय आइसक्यो । त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुनेथियो,’ ढोरपाटनसँग गौतम भन्छन्, ‘तर, सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो । अहिले सबै जिम्मेवारी पूरा गर्नतिर लागेका छौं । अब के हुन्छ हेर्दै जाऔं !’

गौतमका अनुसार प्राधिकरणले औंल्याएका रिठ्ठेपानी डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरणलगायतका समस्या ज्यूँका त्यूँ छ । ‘टाइमअनुसार नहुने नै भयो । बल्ल डाँडा कटानको पुरक इआइए सुरु भएको छ । ल्यान्डफिल साइट पनि भर्खर खोजियो भन्ने कुरा आएको छ । प्रक्रियागत रुपमा कति लाग्छ भन्न सकिँदैन,’ उनले भने ।

चैतमा सक्छौैं, उडान सम्भव छैनः आयोजना

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले सन् २०१७ नोभेम्बरदेखि विमानस्थल बनाइरहेको छ । सन् ०२१ जुनमै निर्माण सकिनुपर्ने भए पनि एक वर्ष म्याद थपिएको थियो । म्याद सकिन अब ९ महिना बाँकी छ । तर, विमानस्थल चैतभित्रै सक्ने गरी काम भइरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

म्याद सकिनुअगावै निर्माण पूरा भएपछि तत्काल उडान सम्भव नहुने मनकर्मी बताउँछन् । ‘हामीले निर्माण सकेपछि पनि उडान स्ट्रक्चर तयार हुन २, ३ महिना लाग्छ । अझै धेरै चरणहरु पार गर्नुछ,’ ढोरपाटनसँग उनले भने, ‘त्यो भन्दा अगाडि यहाँबाट अपरेशन (उडान)को कल्पना पनि गरेका छैनौं ।’

मुनकर्मीले मुख्य समस्याका रुपमा रहेको रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण नगर्दासम्म उडान सम्भव नहुने बताए । विमानस्थलका लागि रिठ्ठेपानीको करिब २ हेक्टर जमिन कटान गनुपर्ने हुन्छ ।

‘रिठ्ठेपानी डाँडा कटानका लागि भर्खर पुरक इआइए गर्दैछौं । रुखको लगत, सीमांकन गरेर स्टिमेटको अन्तिम चरणमा छौं । यो प्रक्रिया लामो हुन्छ,’ उनले भने, ‘महानगर र प्रदेश सरकारसँग त्यहाँ(रिठ्ठेपानी डाँडा)को माटो कहाँ व्यवस्थापन गर्ने छलफल चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->