बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

साता पदमार्गको ‘गेटवे’ सिक्लेस

साता पदमार्गको ‘गेटवे’ सिक्लेस


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७८, मंगलबार

पोखरा/ सिक्लेसबाट बिहानै कफुचे हिमताल पुग्न हिँडेकी अस्मिता राई बाटोमा आत्तिन् । ‘जति हिँडे पनि आउँदै आउँदैन, हामी त ‘होपलेस’ भएका थियौं,’ ५ जना साथीसँग कफुचे हिमताल पुगेकी अस्मिताले भनिन्, ‘अरु पदयात्रीको समुह अगाडी पुगिसकेका थिए, अन्तिममा हामी मात्र थियौं, हराउँछौं कि भनेर डर लागेको थियो ।’

जब राति ८ बजे उनीहरु कफुचे हिमतालको आँगनमा पुगे, त्यसपछि बल्ल ढुक्क भए । अस्मिताले भनिन्, ‘कफुचे पुगेपछि बाटोमा हिँड्दाको दुख त कता हरायो कता ।’ होटल पुगेपछि खुशीयाली मनाउन साथीहरु मिलेर नाचगान गरेको उनले बताइन् ।

सिक्लेसका स्थानीयका अनुसार हिमताल बनेको जम्मा २५ वर्ष मात्र पुग्यो । हिमताल बन्नुअघि कफुचेमा हिउँ जम्मा भएर बसेको थियो । पग्लिएको हिउँ नागबेली आकारमा बगेको थियो । अन्नपूर्ण चौथो र दोस्रो हिमालबाट झरेको हिमपहिरो एकसाथ पग्लेपछि उक्त स्थानमा हिमताल बनेको सिक्लेसका स्थानीयसमेत रहेका प्रदेश सांसद मनबहादुर गुरुङले बताए ।
केही बर्षअघिसम्म सिक्लेस जाने पर्यटक गाउँ घुमेर फर्कन्थे । गाउँमा रहेका संग्राहालयदेखि गुरुङ जातीको संस्कृति अवलोकन गर्थे । अहिले अवस्था फेरिएको छ । सिक्लेस पुगेका पर्यटक गाउँदेखि एक दिन भनेपनि माथिमाथि चढ्न थालेका छन् । जसले नया गन्तव्य स्थापित गर्दै लगेको छ ।

मोटरबाटो बनेपछि अन्नपूर्ण क्षेत्रका स्थापित पदमार्गहरु सकिए । विश्वमै चर्चा कमाएको अन्नपूर्ण फेरो पदमार्गमा मोटर गुड्नुअघि कम्तिमा २१ दिन लाग्थ्यो । मोटरले पदयात्रा ७ दिनमा झारिदिएको छ ।
लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङ हुँदै थोराङपास गरेर मुस्ताङ हुँदै बेनी झर्ने उक्त पदमार्गको माथिल्लो मनाङसम्म मोटर पुगेको छ भने मुस्ताङको लोमान्थाङसम्म पनि नियमित सवारी सेवा पुगेको छ । मोटरबाटो बन्न बाँकी रहेका ठाउँमा समेत डोजर चलाउने प्रक्रिया रोकिएको छैन, यसले पदयात्रीहरुलाई दुख दिएको छ ।

पुराना पदमार्ग मोटरबाटोले विस्थापित गरिरहेका बेला अन्नपूर्ण क्षेत्रमै नयाँ पदमार्गहरु बनिरहेका छन्, जसले पदमार्गका नजिकका गाउँलाई पर्यटनको लाभ दिएको छ । यसको उदाहरण बनेको छ, कास्कीको पर्यटकीय गाउँ सिक्लेस ।
पदयात्रीका लागि खुलेका आधा दर्जन बढी पदमार्गले सिक्लेस गाउँलाई ‘गेटवे’ बनाइदिएको छ । सिक्लेसबाट पुगिने नेपालकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल पुग्न यतिबेला पदयात्रीको लाम लागेको छ । समुन्द्री सतहदेखि २४५० मिटर उचाइमा रहेको यो हिमतालमा अन्नपूर्ण चौथो र अन्नपूर्ण दोस्रो हिमालबाट दिनहुँजसो हिमपहिरो झरिरहन्छ । त्यही हिमपहिरोबाट झण्डै २५ वर्षअघि मात्र कफुचे हिमताल बनेको सिक्लेसका स्थानीय बताउँछन् ।
प्रदेश सांसद गुरुङ कफुचे हिमताल भएको ठाउँमा भेडा चराउन गएको संझन्छन् । ‘बर्खामा हामी भेडा लिएर कफुचे पुग्थ्यौं, त्यतिबेला ताल भएको ठाउँमा हिँडडुल गथ्यौं,’ गुरुङले भने, ‘हेर्दाहेर्दै हिमपहिरो पग्लिएर ताल बन्यो ।’
कफुचे हिमतालमा झरिरहेको हिमपहिरो र तालको सौन्दर्यले गर्दा अहिले उक्त स्थान पर्यटकीय स्थल बनेको सिक्लेसका होटल व्यवसायी धनप्रसाद गुरुङ ‘माइला’ले बताए । सिक्लेसमा नमस्ते गेष्ट हाउस चलाएका माइलाले हिमताल पुग्ने पदयात्री बढ्न थालेपछि सोही पदमार्गको होगुमा होटल खोलेका छन् । सिक्लेसका अन्य युवाले कफुचे ताल नजिकै होटल चलाएका छन् ।

सिक्लेसबाट पदयात्री हिड्न थालेको अर्को गन्तव्य हो, कोरी लेक । गाउँबाट २ दिन हिडेर पुगिने कोरी लेकमा पनि नमस्ते गेष्ट हाउसका संचालक माइलाले सामान्य होटल चलाएका छन् । कोरी लेक पदमार्गमा पनि अहिले नेपाली पदयात्रीको लाम लागेको माइलाले बताए ।

सिक्लेसबाट कोरीलेक हुँदै दुधपोखरी, थुर्चुलेकहुँदै नामनुभञ्ज्याङ पार गरेर मनाङको डाँफेखर्क पुग्न सकिन्छ । उक्त पदमार्ग पुरा गर्न ६ दिन लाग्ने सांसद गुरुङले बताए । बेसीशहर–मनाङ पदमार्ग संचालन आउनुअघि सोही पदमार्गबाट विदेशी पदयात्री यात्रा गर्ने गरेको गुरुङको दाबी छ ।

चर्चित भूगोलविद् टोनी हागन पनि सोही पदमार्ग भएर मनाङ पुगेका थिए । डाँफेखर्कदेखि तिमाङहुँदै एकैदिन सदरमुकाम चामे पुग्न सकिने गुरुङले बताए । सिक्सेलदेखि मनाङसम्मको यो पदमार्ग ५ दिनमा पुरा गर्न सकिने उनले बताए ।

यस्तै, सिक्लेसबाट पदयात्री हिड्न थालेको अर्को पदमार्ग हो, ताराहिल– घलेखर्क पदमार्ग । ‘इको ट्रेक’का रुपमा प्रवद्र्धन गरिएको उक्त पदमार्ग सिक्लेसबाट २ दिनमा पुरा गर्न सकिन्छ । माछापुच्छ«े बेस क्याम्प ४ दिनमा र गुरुङ समुदायको ऐतिहासिक थलो क्व्होंलासोंथर जान पनि सिक्लेसबाट नजिक पर्ने सांसद गुरुङले बताए । क्व्होंलासोंथरबाट लमजुङको घनपोखरा, घलेगाउँ, भुजुङ लगायतका गाउँ पुग्न सकिने उनको भनाई छ ।

यत्तिका पदमार्गमा जाने गेटवे भएकाले अहिले सिक्लेसमा पर्यटकको चाप बढेको मादी गाउँपालिका– १ का वडाध्यक्ष सुरज गुरुङले बताए । उनका अनुसार सिक्लेसमा अहिले १० वटा होटल र २५ घरमा होमस्टे संचालनमा छन् । पर्यटकको चाप बढेपछि होटल र होमस्टेको संख्या थपिँदैछ ।

कोरोना भाइरसको महामारीका कारण दशैंअघि खुलेको सिक्लेसमा अहिले पर्यटकको चापले भ्याइनभ्याई भएको होमस्टे संचालक डिलकुमारी गुरुङले बताइन् । ‘दशैंयता मात्र हाम्रो होमस्टेमा ६० जना पाहुना आइसक्नुभयो,’ उनले भनिन्, ‘सिक्लेस आउने पाहुना अचेल कोही कफुचे जान्छन्, कोही कोरी लेक ।’

कोरोना भाइरसको महामारीका कारण अहिले पदयात्रामा विदेशी पर्यटक भेटिँदैनन् । स्थानीय व्यवसायीका अनुसार नेपाली पदयात्रीको संख्या नै अत्याधिक भएकाले होटल र होमस्टे भरिभराउ भएका छन् ।
सिक्लेसमा पर्यटकीय पूर्वाधार बनाउन पर्यटन मन्त्रालय र मादी गाउँपालिकाले गुरुयोजना बनाएको छ । ५ करोड रुपैया लागतमा गुरुयोजना कार्यान्वयनको चरणमा रहेको सांसद गुरुङले बताए । गुरुयोजना अनुसार गाउँका सबै बाटोमा ढुङ्गा विच्छ्याउनेदेखि खानेपानी, पर्यटक सुचना केन्द्र लगायतका योजना अहिले कार्यान्वयनमा छ ।

पर्यटनको माध्यमबाट गाउँबाट बसाइसराई रोक्न पूर्वाधार विकासका योजना अघि सारेको सांसद गुरुङले बताए । ‘सातवटा पदमार्गमा पुग्न सकिने गेटवे भएकाले अब सिक्लेस पर्यटनको हब बन्दैछ,’ उनले भने, ‘सिक्लेसमा लगानी गर्न चाहनेलाई अब हामी जग्गा र आवश्यक वातावरण मिलाउँछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->