बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्रहरीको लापरवाहीले घटना !

प्रहरीको लापरवाहीले घटना !

सुरक्षा माग्दा सिसी क्यामेरा जोड्न सुझाव ।


  • विजय नेपाली
  • कार्तिक २५ २०७८, बिहिबार

रातोपहिरोमा रातको समयमा केही अपरिचित व्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा चार जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ ।

पोखरा/ समाजको सुरक्षामा २४ सै घण्टा खटिने भनेको नेपाल प्रहरी हो । समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि नै प्रहरीको खाँचो हुन्छ । तर, तिनै प्रहरीले नागरिकको कुरालाई नमान्दा के हुन्छ त ? यसको गतिलो उदाहरण भएको हालै पोखरामा घटेको एउटा घटना ।

पोखरा १७ उपल्लो रातो पहिरोको घटनाले । घटना मंगलबार राति साढे १२ बजेको हो । मंगलबारकै दिन जिल्ला प्रहरी कार्यालयमातहतमा रहेको वडा प्रहरी कार्यालय बैदामले घटनाबारे पूर्वानुमान राख्दासमेत चासो नदिँदा २ जना गम्भीर घाइते हुन पुगेका छन् ।

रातोपहिरोमा रातको समयमा केही अपरिचित व्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा चार जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ससिन छन्त्याल र उज्वल बलामी गम्भीर घाइते भएका हुन् ।

छन्त्यालको टाउकोको पछाडिको भागनै निस्किएको छ भने बलामीको पनि टाउको र हातमा चोट लागेको छ । यस्तै, सावित्री नेपाली र उनका छोरा प्रशान नेपाली भने सामान्य घाइते भएका छन् । घटना संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटना कस्ले घटायो भन्ने प्रमाणित नभएपनि घटनामा दिपेन रानाको हात रहेको प्रारम्भिक अनुमान छ ।

राना तिनै व्यक्ति हुन्, जस्को ३ वर्ष अघि ससिन छन्त्यालको दिदी विमला छन्त्यालसँग सामान्य विवाद गरेका थिए । विमलाले यो वर्ष देउसी भैलो खेलाएकै निहुँमा पुनः विवाद उब्जिएको थियो । सोही विवादका कारण प्रहरीको भ्यान बोलाएर रानासहित विमला र कल्पना गुरुङलाई बैदाम प्रहरीले चौकीमा ल्याएको थियो ।

चौकी ल्याए लगत्तै विमलाको घर वरपर केही अपरिचित व्यक्ति बाइकमा ओहोरदोहोर गरिरहेका थिए । त्यसपछि बैदाम प्रहरीमा खबर गरेपछि उनीहरु त्यहाँबाट निस्किएका थिए । विमला र कल्पनाले झगडा हुन सक्ने भन्दै प्रहरीमा सुरक्षाका लागि आह्वान गरेकी थिइन् । तर, प्रहरीले वास्ता गरेन ।

यतिमात्रै होइन्, बैदाम क्षेत्रमै रहेको सेदीमा आशिष थापालाई समेत ७ जनाको समूहले कुटपिट गरेको थियो । उक्त घटनामा संलग्न ५ पक्राउ परेपनि २ जना अझै फरार छन् ।

सुरक्षा माग्यौं, घरमा सिसी क्यामेरा राख्नुस् भन्ने जवाफ पायौं

कल्पना गुरुङलाई पनि ३ वर्ष अघि रानाकै एक समूहले रगताम्य हुनेगरी कुटपीट गरेका थिए । त्यसपछि मिलापत्र गर्दै छाडिएको थियो । तिहारको समयमा सामान्य विवाद भएकै कारण मंगलबार कल्पनासहित विमला उजुरी दिन बैदाम चौकी पुगेका थिए ।

हामी केश हाल्न आएका थियौं । केश पनि लिन मान्नुभएन । त्यसपछि मिलापत्रमा गरेर बेलुका मात्रै निस्किएका थियौं आफ्नो मात्रै साक्षी बोलायो । हामी दुई जना मुद्दा दर्ता गर्न आएका थियौं । हामीलाई धम्की दियो भन्दै केश हाल्न आउँदा यहाँ लिन मान्नुभएन सरहरुले । होइन मिलेर बस्नुस् भन्नुभयो । हाम्रो कुरा सुन्नुभएन खाली उतैको मात्रै कुरा सुन्नुभयो ।
पुलिसकै अघि हामीलाई ‘आमा चकारी, बाउ चकारी’ लगाउँदासमेत केही बोल्नु भएन । त्यसपछि हामीले हामीलाई सुरक्षा दिनुस भन्दा भन्दै पनि केही हुँदैन भन्नुभयो । भन्दाभन्दै उल्टै हामीलाई जिस्काउँदै तपाईंको घरमा सिसि क्यामेरा राख्नुस भन्नुभयो ।

कुखुराको खोरमा लुकेर बचेका हौं

उसको मनमा पहिलादेखि नै बदला लिने योजना रहेछ । मैले त्यतिबेला मेरो खर्च भएको पैसा हालेको त्यहीं निकालेको थिए । केश हाल्न आउँदा हामी ३ जनालाई भ्यानमै ल्याएको थियो । भैलो खेल्न जाँदा मलाई हुने नहुने भनेपछि मेरो भाइले मेरो दिदीलाई किन गाली गरेको भन्दा भनाभन भएको थियो । त्यतिबेला नै मार्छु भन्दै थियो ।

प्रहरीमा भन्दा यो बढीबढी बोल्दो रहेछ यस्लाई पनि थुन्दे भन्यो । अनि मैले थुन्ने भए हामी तिनै जनालाई थुन्नुस् भने । निस्किएपछि त्यो केटा हाँस्दै गयो । चौकीमा ल्याउँदा नै हाम्रो घरतिर बाइकमा केटाहरु यताउता गरेको ग¥यै थिए ।
हिजो बेलुका भाई कता गएर आएको थियो । अब केटा मान्छे हो । भाइलेपनि नराम्रो बोल्यो होला । तिनीहरुले भिडियो कल गरेर म यो ठाउँमा छु आइज तँ भनेर भाइलाई बोलाएको रहेछ । भाइको लड्ने मन भएको भए त केटाहरु लिएर जान्थ्यो होला नि त । तर, झगडा नगर्ने भएकाले सिधै घर आएर बाइक रोकेछ । त्यहीबेला १० जना जतिले खुकुरी र केकेले हानेर टाउकोको पछाडिको भागको चोक्टा नै लगेछ ।

हामी त कुखुराको खोरमा लुकेर बचेका हौं । नत्र हामीलाई पनि हान्थ्यो । मेरो भाइलाई हानेपछि अर्का एक जनालाई पनि हानेछ । भाइ होशमै छैन अहिले । जानी जानी यीनिहरुले नै हानेको हो । यो जेलमा पर्ने वित्तिकै ४–५ जनाको समूह बाइमा हाम्रो घर तिर किन गयो । यसैको सेटिङले त त्यस्तो भएको हो नी । अब अनुहार नै नचिनेको मान्छेहरु आएर तेरो भाइ को हो देखा फोटो देखा भनेर किन भन्थ्यो ? चौकीमा हामीले घेरेको घरै गरेको छ भनेपछि बल्ल त्यहाँबाट गए । अर्को भाइले हातले छेक्नसम्म भ्याएछ । मेरो भाइले त हातले पनि छेक्न पाएन ।

छोरालाई बचाउँदा मलाई पनि हान्न छाडेनन् : सावित्री नेपाली

खासमा तिनिहरु बाझाबाझ गरेको सुने मैले त्यसपछि म बाहिर भ्वाट्टै निस्किएँ । मेरो घरकै आडमा घटना भएको हो । बाहिर निस्किदाँ त ८–९ जना केटाहरुसंग हतियार समेत थियो । लामा लामा तरवार, १ वटा खुकुरी समेत थियो । पहिला भनाभन गरिराखेका थिए । ३ जनालाई माझँमा राखेका थिए । अनि म माझमा पसेँ । त्यसपछि एकाएक हिर्काउन लागे तिनीहरुले । मैले छोरो समाउछु भन्दा छोराको चोट मलाई प¥यो । खुकुरी फालेर भागे त्यो खुकुरी पुलिसले भेटाएको छ ।

छोराहरु लडेका थिए म छुटाउन गए । अनि त्यहाँबाट मलाई समेत हाने । अनि हान्दाखेरी ती केटाहरुलाई धकेल्न थाले उनीहरु भटाभट हान्दै हिड्न थाले । वडा वडा छन् हतियार हरु । कहाँको हो कहाँको घरभित्र छिर्नै लागेको समयमा आएर हान्यो आधा रातमा । ३ जनालाई हानेकेरे । मैले मेरो छोरालाई समातेर ताने अनि मलाई नै हाने ।

प्रहरीको लापरवाही भएको भए कार्वाही गर्छौ : प्रवक्ता हमाल

घटना कस्ले घटायो भन्ने खुल्न सकेको छैन् । घटनामा संलग्न रहेको आशंकामा हामीले १ जनालाई पक्राउ गरि अनुसन्धान गरिहेका छौ । जस्लाई उनीहरुले आरोप लगाएका छन् । ती व्यक्ति त्यो समय घरमै रहेको देखिन्छ । यदि प्रहरीको लापरवाही रहेछ भने हामी प्रहरीलाई पनि कार्वाही गर्छौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->