बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन प्रतिनिधि छनोटका लागि बागलुङमा २८ जनाको उमेद्वारी दर्ता भएको छ । बिहीबारबाट सुरु निर्वाचन कार्यक्रम अन्तर्गत बागलुङबाट निर्वाचित हुने १२ जना प्रतिनिधिका लागि २८ जनाले उमेद्वारी दिएका हुन् ।
सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट हुने व्यवस्था छ । दुई जना दलित समुदायका प्रतिनिधि छनोट हुनुपर्ने एमाले विधानले व्यवस्था गरेको छ । क्षेत्र नं. १ बाट धनबहादुर परियार र क्षेत्र नं. २ बाट देवकुमार नेपाली सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।
जिल्लाका दुई निर्वाचन क्षेत्रबाट निर्वाचित हुने तीन जना महिला प्रतिनिधिका लागि सात जनाको उमेद्वारी दर्ता भएको छ । क्षेत्र नं. १ बाट भीमा अधिकारी, सावित्रा राना, ममतादेवी शर्मा, गीता शर्मा र हुम कुमारी जिसीको उमेद्वारी दर्ता भएको छ । क्षेत्र नं. १ बाट दुई जना महिला प्रतिनिधि हुन पाउँछन् । एक जना मात्रै महिला प्रतिनिधि हुन पाउने क्षेत्र नं. २ मा पनि दुई जनाको उमेद्वारी दर्ता भएको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले बताए । क्षेत्र नं. २ बाट यमुना राना र बिना थापाको उमेद्वारी परेको छ ।
चार जना अन्य प्रतिनिधि छनौट गर्न पाउने क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, डा. सूर्य पाठक, कृष्ण पाठक, जनकराज पौडेल, डिल्लिराज गौतम, शिवप्रसाद सापकोटा, हिरा केसी, कृष्ण केसी, कुमार खड्का, प्रदीप थापा र केवी रानाको उमेद्वारी दर्ता भएको छ ।
त्यस्तै तीन जना प्रतिनिधि छनोट हुन पाउने क्षेत्र नं. २ बाट तुलसी अर्याल, सञ्जय श्रेष्ठ, मेहरसिंह पाईजा, मोहनलाल शर्मा, सुनिल शेरचन, बिष्णु भुसाल र डम्मबर श्रीषको उमेद्वारी परेको उपाध्यक्ष पाठकले बताए । निर्वाचन कार्यतालिका अनुसार कात्तिक २६ गते दिउँसो सम्म उमेद्वारी फिर्ताको समय छ । महाधिवेशन प्रतिनिधिका लागि जिल्ला कार्यसमितिले भरपुर प्रयास गर्ने सचिव विष्णु भुसालले बताए ।





