बागलुङ -आगामी मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट गरेर शनिबार प्रमाणपत्रसमेत वितरण गरेको छ । अधिवेशनका लागि बागलुङबाट १० जना प्रतिनिधि महिला तथा पुरुष र दुई जना दलित प्रतिनिधि गरी १२ जना छनोट गरेको हो । शनिबार पत्रकार सम्मेलन गरेर ती प्रतिनिधिको नाम सार्वजनिक गर्दै प्रमाणपत्र पनि वितरण गरिएको छ ।
एमाले अधिवेशनका लागि जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा प्रतिनिधिमा चुनिएका छन् । सापकोटासहित क्षेत्र नं. १ बाट हिराबहादुर केसी, गीता शर्मा, जनकराज पौडेल, सावित्रा राना र डा. सूर्य पाठक पनि महाधिवेशनका लागि छनोटमा परेका हुन् ।
क्षेत्र नंं २ बाट मोहनलाल शर्मा, सुनिल शेरचन र भीमा अधिकारी प्रतिनिधिमा छानिएको एमालेले जनाएको छ । दलिततर्फ दुई जना प्रतिनिधि चाहिने भएकोले बागलुङ नगर अध्यक्ष धनबहादुर परियार र देवकुमार नेपाली पनि निर्विरोध छानिएको निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उक्त अवसरमा अध्यक्ष सापकोटाले एमालेले समावेशी र लोकतान्त्रिक विधिबाट प्रतिनिधि छानेर महाधिवेशन तयारी गरेको बताए । सचिव बिष्णुप्रसाद भुषालले अब तत्कालै जनपरिचालनमा पार्टी लाग्ने बताए । एमालेले मंसिर १२ देखि हुने चितवन महाधिवेसनमा ३ हजार कार्यकर्ता लैजाने तयारी गरेको छ । कार्यक्रममा जिल्ला इन्चार्ज मनकुमारी केसीले एमालेले महिला दलीत र जनजाती मिलाएर समावेशी प्रतिनिधि बनाएको, र देशकै ठूलो पार्टी बनेर फेरी राज्य सत्ता चलाउने दावी गरिन् ।
प्रतिनिधि छनौटकालागि अधिवक्ता विष्णुप्रसाद शर्माको संयोजकत्वमा निर्वाचन कमिटी गठन भएको थियो । उता कांग्रेसमा पनि महाधिवेसनको रौनक बढेको छ । काठमाण्डौ देखि सहरी क्षेत्रमा बस्दै आएका नेता तथा कार्यकर्ता प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय अधिवेसनकालागि सदरमुकाम आइसकेका छन् ।
कांग्रेसले बागलुङबाट सभापति सहित ५० जना महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ । मंसिर ३ गते प्रदेश क्षेत्र र ६ गते संघीय क्षेत्रको अधिवेशन सकेपछि १० गते जिल्ला अधिवेसनको तयारी भएको पार्टी सभापति दीपेन्द्रबहादुर थापाले बताए ।
कांग्रेस जिल्ला अधिवेशनका लागि ५ जना आकांक्षी देखिएका छन् । सभापति थापासहित हालका सचिव नवराज पौडेलसमेत दावेदार छन् । पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, द्रोणराज कु“वर, जगन्नाथ आचार्यलेपनि सभापतिको आकांक्षा देखाएका छन् ।
कांग्रेस सभापति बन्नकालागि प्रतिनिधिसभा क्षेत्रीय अधिवेसनबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनुपर्ने बाध्यात्मक व्यवस्था छ । क्षेत्रीय अधिवेशनमा पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधिकाा लागि पनि धेरै नेता कार्यकर्ताले उमेदवारी घोषणा गरेका छन् । क्षेत्र नंं १ को सभापतिकालागि अहिले सम्म चण्डीप्रसाद शर्मा, प्रकाश आचार्य, खड्ग थापा र प्रमानन्द कँडेलले उमेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. २ तर्फ गण्डकी थापा, जोकलाल बुढा, लगायतले चासो राखेका छन् । घोषणा गरेर प्रचार भने गरेका छैनन् ।
राप्रपाले भने जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सुरेन्द्र खड्काको अध्यक्षतामा राप्रपाको जिल्ला समिति गठन भएको हो । नेकपा माओवादीले पनि सबै वडा तहमा कार्यसमिति पुर्नगठन गरेको पार्टी सेक्रेटरी ज्ञामनाथ गैरेले जानकारी दिए । बगलुङमा सक्रिय राष्ट्रिय जनमोर्चाले भने एक वर्षअघिनै जिल्ला अधिवेसन र केन्द्रीय महाधिवेसन सकेको छ । जिल्लामा अमरबहादुर थापा अध्यक्ष छन् भने महाधिवेशनले चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।





