पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार आयोगले ठूला माछा छाड्ने गरेको आरोप लगाएका छन् । उनले अख्तियार अनुसन्धान आयोग आफ्नो जिम्मेवारीबाट पछि हट्दै सानासानालाई समातेर तर्साउने काम गरेपनि ठूला भ्रष्टाचार गर्नेलाई त्यसै छाडिएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार भ्रष्टाचारको मुद्दा दोस्रो स्थानमा रहेको छ । भ्रष्टाचार गर्नेमा सबैभन्दा बढी सहायक तथा सहयोगी कर्मचारी रहेका उल्लेख गरेको छ ।
‘अख्तियारको क्रियाकलापमा ठूलोठूलो माछाहरु कमै पर्छन । हाम्रो बहुदलको पुनस्र्थापना पछि केही पंक्षीहरु कारवाहीमा परे,’ उनले भने, ‘तर, त्यसपछि हामीले मिडियाबाट आएअनुसारका ठूलाठूला भ्रष्टाचारहरु अझैपनि जनतालाई विश्वास हुनेगरी यो कार्यालयले काम गर्न सकेको महसुस आम जनताले अझै गर्न सकेको छैन ।’ संविधानले व्यवस्था गरेअनुसार आयोगहरु आ–आफ्नो ठाउँमा पारदर्शी ढंगले बन्ने उनले बताए ।
‘कामचाहिँ सशक्त गर्न नसक्ने ठूलाठूला माछा जति जम्मै फुत्किने तल्लो तहकालाई मात्रै कारवाही गराउने तर्साएजस्तो गर्ने जनतामा भ्रम पैदा गर्ने काम ग¥यो भने यसबाट पनि जनताको भरोसा विश्वास उठ्छ,’ प्रदेश प्रमुख गुरुङले भने ।
आयोगको पोखरा कार्यालयका प्रमुख कोषहरि निरौलाले ३१ औ वार्षिक प्रतिवेदनको रुपमा आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन गुरुङसमक्ष पेस गरेका थिए । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्ष अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार २ सयसहित २२ हजार ६ सय २५ उजुरी परेका थिए ।
|
त्यसमा सबैभन्दा बढी संघीय मामिला (स्थानीय तहसमेत) मा ३२.७२ प्रतिशत (७४०४), शिक्षा (स्थानीय तहसमेत) १५.६१ प्रतिशत (३५३१) उजुरी दर्ता भएका थिए । उजुरीमध्ये उक्त वर्ष १४ हजार ५ सय ३२ फछ्र्यौट भएका छन् ।
विस्तृत अनुसन्धानबाट ४ सय ८८ मुद्दामा कारबाही भएको र ६ करोड ३६ लाख ९० हजार २ सय २४ रुपैयाँ असुलउपर भएको प्रतिवेदनमा छ । यस्तै जिल्लागत रुपमा सबैभन्दा बढी कास्की जिल्लामा उजुरी दर्ता भएका छन् । संघतर्फ १६८ उजुरी परेका छन् भने प्रदेशतर्फ ७८ तथा स्थानीय तर्फ १६५ उजुरी परेका छन् ।
कास्कीमा कुल ४ सय ११ मुद्दा रहेका छन् । तनहुँमा १०७, स्याङ्जामा १०२, पर्वतमा ७२, बागलुङमा ६८, लम्जुङमा ५७, गोरखामा ५३, म्याग्दीमा ४९, मनाङमा ७ र मुस्ताङमा ६ उजुरीहरु दर्ता भएको प्रतिवेदनले देखाएको छ ।





