बागलुङ, ३ मंसिर– नेपाली कांग्रेसको प्रदेश महाधिवेशनअन्र्तगत बागलुङमा प्रदेश क्षेत्रको अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार जिल्लाका चारवटै प्रदेश क्षेत्रमा अधिबेशनको उद्घाटन तथा उम्मेदवारी दर्ताको काम सकिएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।
बागलुङ क्षेत्र नं. १ (क) को अधिबेशन उद्घाटन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रन्ता शेरचनले लोकतान्त्रीक बिधिबाट नेतृत्व चयन हुने बताईन् । आन्तरिक लोकतन्त्र बलियो भएको पार्टीले मात्रै देशमा लोकतन्त्रको रक्षागर्न सक्ने भन्दै शेरचनले विभाजित मानसिकता त्याग्न कार्यकर्तालाई आग्रह गरिन् ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र थापा, पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल लगायतले असल नेतृत्व छनौटमा ध्यान दिन आग्रह गरे ।
बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेतृत्व चयनका लागि मतदान हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश क्षेत्रीय समितिका सदस्य तथा पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि आवश्यकभन्दा दोब्बर उम्मेदवारी परेको छ । सबै पदहरुमा दोब्बर उम्मेदवारी दर्ता भएकाले शनिबार मतदान हुने मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद शर्माले बताए ।
प्रत्येक क्षेत्रबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधिमा छानौट हुन पाउने व्यवस्था छ । तीन जना महिला अनिवार्य हुनेगरी १० जना खुल्ला र बाँकी ७ जना सदस्य संख्याका आधारमा समानुपातिक प्रतिनिधि हुनपाउने कांग्रेको बिधानमा व्यवस्था छ ।
जिल्लामा रहेका दुई संघीय निर्वाचन क्षेत्रअन्र्तगतका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा ३४ जनाभन्दा धेरैको उम्मेदवारी दर्ता भएको शर्माले बताए । बागलुङ क्षेत्र नं. १ (क)मा सभापतिका लागि दुई जनाको उमेद्वारी परेको छ । उपसभापति, सचिव र सह–सचिवका लागि ४÷४ जनाको उमेद्वारी दर्ता भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले बताए ।
खुल्ला, महिला, जनजाती र दलित सदस्य गरी १७ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । प्रदेश महाधिबेशन प्रतिनिधिमा १७ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको शर्माले बताए ।
त्यस्तै क्षेत्र नं. १ (ख) मा सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उप–सभापतिमा ३, सचिव र सह–सचिवमा ४÷४ जनाको उम्मेदवारी दर्ता भएको छ । सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत तिलक आचार्यले बताए ।
बागलुङ क्षेत्र नं. २ (क) मा सबै पदका लागि ४१ जनाको उम्मेदवारी दर्ता भएको छ । महाधिबेशन प्रतिनिधिका लागि ३४, सभापतिमा २ र सहसचिवमा ३ जनाको उम्मेदवारी परेको छ । उप–सभापति र सचिवमा निर्विरोध निर्वाचित भए भने केही सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सरिता केसीले बताईन् । तर उम्मेदवारी फिर्ताको समय बाँकी रहेको भन्दै निर्विरोध हुनेको नाम निर्वाचन समितिले दिन मानेन् । क्षेत्र नं. २ (ख)मा यो समाचार तयार पार्दासम्म मनोनयनको समय बाँकी रहेकाले उम्मेदवारको संख्या नटुंगिएको निर्वाचन अधिकृत ज्ञानेन्द्रराज पन्तले बताए ।
बागलुङमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको गुट स्पष्ट देखिएको छ । महाधिबेशन स्थलमा जम्मा भएका नेता कार्यकर्ता समेत एक अर्कालाई प्रतिस्पर्धीको व्यवहार गरिरहेका थिए । सबै क्षेत्रमा दुई पक्षले स्पष्ट प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने केही युवाहरुले पार्टी भित्रको बेथिती सुधारका लागि भन्दै स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका छन् ।





