बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताएका छन् । नास्टको सहकुलपति समेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताए ।
सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका मन्त्री पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए । मन्त्री पौडेलले भने ‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो,’ ‘यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।’
नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिए ।





