बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस महाधिवेसन : युवाहरुको उत्साहजनक प्रतिष्पर्धा

कांग्रेस महाधिवेसन : युवाहरुको उत्साहजनक प्रतिष्पर्धा


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७८, मंगलबार

बागलुङ/ आसन्न चौधौं महाधिवेसनका लागि जिल्लामा युवाहरुको प्रतिष्पर्धा उत्साहजनक बन्दै गएको छ । वडा सभापतिमा २० देखि ३० वर्षे युवाहरु आएपछि त्यसपछिका अधिवेसनमा पनि युवाको लहर बढेको छ ।
प्रदेश क्षेत्रिय अधिवेसनमा बागलुङको चारवटै क्षेत्रमा निर्वाचित सभापतिहरु पनि युवा छन् । उनीहरु जस्तै केन्द्रीय महाधिवेसन प्रतिनिधिका लागि पनि युवाकै प्रतिष्पर्धा छ । नेपाल विद्यार्थी संघको राजनीतिमा नेतृत्वमा पुगेका युवा नै यो पटक महाधिवेसन प्रतिनिधिमा प्रतिष्पर्धा गर्दैछन् । केन्द्रीय महाधिवेसनको लागि पनि विश्वप्रकाश शर्मा, गगन थापा र प्रदिप पौडेलले महामन्त्री दाबी गरेपछि उनीहरुलाई मतदान गर्न जाने प्रतिनिधि पनि युवाहरुकै बर्चस्व बढ्न थालेको हो ।

केन्द्रका युवा नेताहरुकै कारण जिल्लाबाट निर्वाचित भएर जान पनि युवा उत्साही भएका हुन् । नेबिसंघका उपाध्यक्ष भैसकेका डिल्लीराम सुवेदी र सागर परियार, सहमहामन्त्री भएका हरिहर शर्मा र धौलागिरि बहुमुखी क्यामपसका पूर्व स्ववियु सभापति चिरन्जिवी गौतम, त्रिभूवन विश्वविद्यालयका पूर्व सभापति भीम श्रीष, त्रिचन्द्र क्याम्पसका नेविसंघ सभापति बिष्णुप्रसाद पौडेल (दाह्री) महाधिवेसनमा लडेका छन् । नेविसंघको अध्यक्ष खड्ग थापा क्षेत्रीय सभापतिका उम्मेदवार छन् । बिद्यार्थी राजनीतिबाटै अगाडि आएका उमेश गौतम, टेकराज पौडेल र जीत शेरचन पश्चिम बागलुङबाट उम्मेदवार छन् ।

त्यसो त पाका पुरानाले पनि दाबी छाडेका छैनन् । यो पटक पूर्व सभापतिहरु मध्येबाट गोबिन्द प्रसाद शर्मा कंडेल प्रतिष्पर्धामा छैनन् । उमेरले पनि उनी ८४ वर्षमा प्रवेश गरेका छन् । केही पाका नेताले भने महाधिवेसन प्रतिनिधि हार्ने डरले प्रदेश प्रतिनिधिमा प्रतिष्पर्धा गरे । केहीले जितिसकेका छन् । तर युवाहरुमा भने केन्द्रीय नेतृत्वनै परिवर्तन हुनुपर्ने पक्षमा छन् ।

‘शिक्षा, स्वास्थ्य र आम नागरिकका जनजीविकामा सुधार ल्याउन सक्ने नेतृत्व चाहिएको छ, त्यसैका लागि हामी प्रतिनिधिमा जान खोज्दैछौं’ नेविसंघका पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’मार्फत पनि देशको शिक्षा नीतिमा आमूल परिवर्तन ल्याउन पहल गरेका छौं ।’ तर इच्छा शक्ती भएको राजनीतिक नेतृत्व ल्याउन पहल गर्ने उनले बताए । कांग्रेस नेता गगन थापा लगायतका नेताले यो अभियानलाई साथ दिएकोले नेतृत्वमा पनि थापा आउनुपर्ने युवाहरुको धारणा छ ।

केन्द्रीय नेतृत्वमा पुराना अनुहारमै दोहोरिने अवस्था आउन नदिन पनि युवाहरु निर्वाचित भएर जानुपर्ने धारणा विकास भएको छ । ‘जसरी गाउँ गाउँबाट युवाले नेतृत्व खोज्दैछन्, त्यसैगरी केन्द्रमा पनि युवा चाहिन्छ’ नेविसंघका अध्यक्ष खड्ग थापाले भने, ‘संगठन चुस्त बनाउने, बिपक्षीसँग चुवानी रणनीति बनाउने र देशकै नीतिमार्फत युवा रोजगार बनाउने काममा युवाकै नेतृत्व चाहिन्छ ।’ वडा तहबाट आएका प्रतिनिधि पनि युवा नै भएकोले यो पटक कांग्रेसमा केही परिवर्तनका लहर देखिने उनले बताए ।
महाधिवेसनले केन्द्रीय सभापतिसहित दुई महमन्त्री, ७ सहमहामन्त्री चयन गर्नेछ । मंसिर १० गते जिल्ला अधिवेसन छ । जिल्ला सभापतिका लागि पनि अहिलेसम्म ५ जना प्रतिष्पर्धी देखिएका छन् । उनीहरुमध्ये चार जना संस्थापन र इतर समूहका एक जना छन् । महाधिवेसन प्रतिनिधि जितेपछि मात्रै सभापतिको दाबेदार बन्न पाउने कांग्रेस बिधानले महाधिवेसनमै कडा प्रतिष्पर्धा हुने देखिन्छ । ‘सभापति लड्नकै लागि महाधिवेसन जित्नुपर्छ, त्यसपछि मात्रै वास्तविक उमेदवार देखिन्छन्’ सभापति दिपेन्द्रबहादुर थापाले भने, ‘छोरो नपाउँदै कान्नानीको हतार गर्नु हुँदैन ।’

गुटको लडाइ

बागलुङ कांग्रेसमा स्पष्ट रुपमा दुई गुट छन् । पालिका र प्रदेश अधिवेसनमा संस्थापन कमजोर देखिएको छ । क्षेत्र नं. १ को ‘क’ प्रदेशमा मात्रै संस्थापनका सभापति बिजयी भएका छन् । महाधिवेसन प्रतिनिधि र क्षेत्रीय सभापतिमा पनि दुइ प्यानल खडा भएका छन् । संस्थापन तर्फबाट खड्ग थपा र रामचन्द्र पौडेल पक्षबाट चण्डीप्रसाद शर्मा चुनावमा छन् । महाधिवेसनका लागि पनि दुवै तर्फका प्यानल बनेका छन् । १० खुलासहित २५ जना महाधिवेसन प्रतिनिधि जाने एक क्षेत्रमा झण्डै ५० आकांक्षी छन् ।

गुटको कारण कुशको उम्मेदवार उठाएर जिताउने प्रवृत्ति नराम्रो भएको कार्यकर्ताले बताए । ‘यो नराम्रो प्रवृत्ति भित्रियो, राजनीतिक संस्कार देखिनु पर्ने हो’ विश्लेषक प्रताप पौडेलले भने, ‘अन्तिममा इगोको लडाइ भएपछि गुटमा परेको जोसुकैले चुनाव जित्छन्, राजनीतिक व्यक्तिले हार्न सक्छन् ।’ त्यसका लागि नेतृत्व र कार्यकर्तामा राजनीतिक संस्कार बस्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->