पोखरा – निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाउने घोषणासहित गण्डकी सरकारले प्रदेश स्वास्थ्य नीति जारी गरेको छ ।
प्रदेश स्वास्थ्य नीति २०७८ ले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउन एक चिकित्सक र स्वास्थ्यकर्मी : एक सस्था नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश सरकारले प्रजनन,बाल र किशोरावस्थाको स्वास्थ्यमा सुधार गर्ने तथा पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने नीति लिएको छ । यसैगरी मुटु,कलेजो,मृगौला, क्यान्सर मानशिक रोगको हकमा विशेषज्ञ र विशिष्टीकृत सेवा बिस्तार एवं सबैको पहुँचलाई प्राथमिकतामा राखेको छ ।
मुख, नाक, कान,घाँटी र आँखासम्बन्धी सेवालाई एकीकृत रुपले संचालन गर्ने,औषधिको अभाव अन्त्य गर्ने,आयुर्वेद र वैकल्पिक चिकित्सालाई प्रवद्र्धन गर्ने एवं पूर्ण डिजिटल अभिलेखीकरणलाई प्रोत्साहित गरिने पनि मन्त्री अधिकारीले जानकारी दिइन् ।
गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा स्थापना गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने र एक पालिकाः एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागु गरिने पनि उनले जनाइन् ।





