बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माओवादी केन्द्रको पालिका अधिवेशन आज

माओवादी केन्द्रको पालिका अधिवेशन आज


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

बागलुङ/ राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा आज एकसाथ अधिवेशन गर्दैछ ।

अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ । सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिने माओवादी केन्द्र, बागलुङ जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताए ।

उनका अनुसार सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ । जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ ।

पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको संयोजक गैरेले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उनको भनाइ छ ।

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ ।

वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->