बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस बागलुङको सभापति कसले मार्ला बाजी ?

कांग्रेस बागलुङको सभापति कसले मार्ला बाजी ?

क्षेत्रीय महाधिवेशन अगाडि मौन बसेका जीत शेरचनको सभापतिको उम्मेदवारमा इन्ट्री भएसँगै बागलुङको कांग्रेस राजनीतिमा नयाँ तरंग छाएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

बागलुङ/ १४ औं जिल्ला अधिवेशनबाट कांग्रेस नेतृत्वमा को आउला भन्ने अहिले धेरै अड्कलबाजी भैरहेका छन् । शनिबार त्यसका लागि निर्वाचनसमेत भएको छ ।
यसअघि प्रचारमा लागेका जगदिशचन्द्र उपाध्याय र द्रोण कुँवरसहित जीतबहादुर शेरचन पनि सभापतिको मैदानमा उत्रेका छन् । क्षेत्रीय महाधिवेशन अगाडि मौन बसेका शेरचन आएपछि बागलुङको कांग्रेस राजनीतिमा नयाँ तरंग छाएको छ ।

गत १३ औं महाधिवेशनमा पराजित भएपछि संगठन सुदृढीकरणमार्फत फेरि १४ औं महाधिवेशनमा सभापतिमा भिडेको उपाध्यायको दावी छ । उनी रामचन्द्र पौडेल समूहका नेता हुन् । कुँवर देउवा समूहका हुन् भने शेरचन केन्द्रमा कृष्ण सिटौला समूहका हुन् । तर, चुनावी गठबन्धनको क्रममा भने कुँवर एक्लिएका छन् । संस्थापनमा देउवा निकट मानिए पनि जिल्लाका देउवा समूहले भने शेरचनको समर्थन गरेका छन् । केही व्यक्तिमात्रै कुँवरको पक्षमा छन् ।
शनिबार दुवै समूहले पत्रकार सम्मेलन समेत गरे । शेरचन नेतृत्वमा खिमानन्द पौडेल र सागर छन्त्याल उपसभापति, गण्डकी थापा अधिकारी र चिरन्जिवी गौतम सचिवका उम्मेदवार छन् । सह–सचिवमा ज्ञानेन्द्र गौतम र फमबहादुर खत्री उम्मेदवार छन् । यसअघि खत्रीले सचिवको दावी गरेका थिए ।

उता जगदिशचन्द्र उपाध्याय समूहबाट नारायण शर्मा पौडेल र ताराखान पौडेल उपसभापति छन् । सचिवमा हरिहर शर्मा र कृष्ण केसी उम्मेदवार बनेका छन् । सहसचिवमा ज्ञानकुमारी श्रीष र झकबहादुर बुढा रहेका छन् । कुँवरले भने आफ्नो प्यानल बनाएका छैनन् । पत्रकार सम्मेलनमा कुँवरले आफू गुटबन्दीबिरुद्ध लागेको भन्दै देउवा समूहको उम्मेदवार भएको पनि बताए । पत्रकारको प्रश्नको उत्तरमा उनले प्यानलको गुट अन्त्य गर्ने अभियानमा लागेको दाबी गरे । त्यस्तै उनले पश्चिम बागलुङबाट सभापतिमा दावी गर्ने पहिलो व्यक्ति बनेकोले आफ्नो एजेण्डाले जितेको उनको भनाई थियो ।

शेरचन समूहले पत्रकार सम्मेलनमार्फत् पार्टीमा फाइल बढुवा पद्दति हटाउन उम्मेदवारी दिएको बताए । जसले काम गर्न सक्छ उसैले नेतृत्व सम्हाल्ने हो भन्दै देउवा समूहको नेतृत्व गरेर उम्मेदवार बनेको बताए । पत्रकार सम्मेलनमा पूर्वराज्यमन्त्री चम्पादेवी खड्कासमेत सहभागी थिइन् । कार्यक्रममा अधिकांश देउवा समूहको उपस्थिति थियो । उता कुँवरले भने पार्टी सभापति दिीपेन्द्र थापा, आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माको समर्थन रहेको दाबी गरेका थिए ।

चुनावमा होमिएका उपाध्याय क्षेत्र नंं १ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याउने नेता हुन् । उनले कुल ९ सय २१ मतदातामा ६ सय २६ मत पाएका थिए । अर्का उम्मेदवार शेरचन क्षेत्र नंं. २ बाट सबैभन्दा धेरै मत ल्याउने नेता हुन् । उनले ८ सय २४ मतदाताबाट ४ सय ६८ मत ल्याएका थिए ।

जिल्लाभरको मतदाना १ हजार ७ सय ७५ जना छन् । सबै मत खसेको खण्डमा ८ सय ८० मत ल्याउनेले निर्वाचन जित्छन् । उक्त मत ल्याउन उपाध्यायलाई यसअघिको मतमा २ सय ५४ मत आवश्यक पर्छ भने शेरचनलाई ४ सय १२ मत आवस्यक पर्छ । कुँवरले तान्ने मत अधिकांश पश्चिम क्षेत्रकै हुनाले शेचरनलाई पनि यो फलामको च्यूरा जस्तै हुनेछ । पहिलो चरणमा तीन जनाकै ५१ प्रतिशत नआई दोश्रो चरणको निर्वाचन भएमा परिणाम फरक पर्न सक्ने कार्यकर्ताले बताए ।

यसपटको निर्वाचनमा सचिव पदमा पनि निकै प्रतिष्पर्धा हुने देखिएको छ । युवाहरुमा भिजेका उपाध्याय समूहका हरिहर शर्मा र शेरचन समूहका चिरन्जिवी गौतमले कसले बढी मत ल्याउने भन्ने प्रतिष्पर्धा बढी रोचक हुनेछ । अर्का दुई सचिवका उम्मेदवार पश्चिम क्षेत्रका भएकोले उनीहरुमध्ये पनि उत्तिकै टक्कर छ । कृष्ण बहादुर केसी र गण्डकी थापा अधिकारी सहसचिवमा उम्मेदवारी दिएका छन् । अधिकारीले महिला उम्मेदवार अरुको नभएको भन्दै आफ्नो पक्षमा बढी मत आउने बताउँछिन् भने केसीले तरुण दलमा काम गरेको अनुभवले युवाहरु आफ्नो पक्षमा भएको दावी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->