
बेनी/ म्याग्दीका एक वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन् ।२५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक घर फर्किएका हुन् ।
श्रीमती र एक छोरालाई छोडेर आफन्तको सहयोगमा भारतीय सेनामा भर्ती हुन हिडेका विकको सपना पूरा नभएपछि भारतको जम्मू–कश्मीर राज्यको रामबन भन्ने ठाउँमा बसेर ज्याला मजदुरी,ज्यामी र चौकीदारको रुपमा काम गरे। सडक विस्तारमा आवश्यक पर्ने सामान सवारीसाधनबाट निकाल्दै गर्दा एउटा खुट्टा गुमाएका बिकले करिब २ वर्ष अस्पतालमै बिताए ।
कम्पनीको खर्चमा उपचारपछि पुनःकाममा फर्किएका विकले पटक–पटक परिवारसँग सम्पर्कको प्रयास गरेपनि सफल नभएको बताए। सीमावर्ती भारतको रक्सौलबाट बसमा पर्वतबेनीसम्म आएका विकलाई त्यहाँबाट बागलुङ जाने चाहना गरेपछि जिपले लगेर छोडेको थियो ।उनले एउटा बोरामा कपडासँगै राखेको ३५ हजार आइसीसमेत हराएको बताए ।
‘खोल्टीमा भएको पैसा साथमै छ,कपडासँग राखेको पैसा र मोवाइल हराएको छ’, अर्जमकासुनारले भने । उनको साथमा रहेको ६० हजार आइसी आफन्तले राखिदिएका छन् । भारतीय सेनाबाट अवकाशप्राप्त भीमबहादुरले धनबहादुरको खोजी प्रयास पनि गरे । खोजीकार्यका लागि जम्मू–कश्मीरमा पुग्दा मृत्यु भइसकेको खबर सुनाएपछि फर्किएको बताए।कम स्मरण शक्ति भएका विककी श्रीमती र एक छोरा ससुरालीमा बस्दै आएका छन् ।श्रीमती मुटुरोगी भएकाले काठमाडौंमा रहेको र छोरा मानसिक सन्तुलन कमजोर छ।भारतमै हराएका श्रीमान घर फर्किएको खवर सुनेर परिवार र गाउँले हर्षित भएपनि काठमाडांैमा नियमित उपचारका लागि गएकी श्रीमतिसँग भने भेट हुन पाएको छैन् ।






