पोखरा\दमौलीकी रिया गुरुङलाई धेरैले नायिका भनेर चिन्छन् । उनले आधा दर्जन बढी फिल्म र दर्जन बढी म्युजिक भिडिओमा अभिनय गरेकी छन् । गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म कर्म क्याँ (कर्मको बाटो)बाट डेब्यु गरेकी रियालाई पहिलो फिल्मले नै सफलता दिएको थियो ।
०७२ सालमा सुटिङ थालेर ०७४ मा प्रदर्शनमा आएको कर्म क्यांले दर्शकको मन जित्न सक्यो । गुरुङ फिल्मका पारखीहरुले फिल्म रियाको अभिनय मन पराए । यतिमात्र होइन, यो फिल्मले सोही वर्षकै आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘पब्लिक च्वाइस अवार्ड’ थाप्नसमेत सफल भयो ।
कर्म क्याँमा रियामात्र पहिलो थिइनन्, यसका निर्देशक पोखराकी जस्सु गुरुङले पनि पहिलो पटक निर्देशनमा हात हालेकी थिइन् । पहिलो फिल्मकै सफलताले जस्सुलाई दोस्रो गुरुङ फिल्म म्ले क्युँ (बिर्साउने पानी) निर्देशन गर्न पाएकी थिइन् । प्रदर्शनको तयारी हुँदाहुँदै कोरोना भाइरसको महामारीले म्ले क्युँलाई रोकिदियो । यसमा पनि मुख्य नायिका रिया नै छिन् ।
कर्म क्याँबाट डेब्यु गरेर रियाले आधा दर्जन फिल्म र दर्जन बढी म्युजिक भिडिओमा अभिनय गर्ने अवसर पाइन् । उनको अभिनयलाई गुरुङ फिल्मका निर्देशक, दर्शक र अन्य कलाकारले समेत प्रशंसा गर्दै आएका थिए । अहिले उनै रिया नपत्याउँदो तरिकाले राजनीतिमा होमिएकी छन् ।
रियाका परिवार पहिल्यैदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध थिए । उनी भने कांग्रेस निकट युवाहरु आवद्ध ‘स्कुल अफ डेमोक्रेसी’मा सक्रिय थिइन् । पार्टीका गतिविधिलाई परिवारसँगै बसेर हेरिरहेकी रियाले यसैवर्ष कांग्रेसको क्रियाशील सदस्यता लिइन् । पार्टी सदस्यता लिँदा उनले कुनै पद पाइएला भनेर सोचेकी थिइनन् ।
जब कांग्रेस महाधिवेशनमा होमियो, त्यसपछि उनलाई पनि पार्टी गतिविधीमा लाग्न मन लाग्यो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँ कांग्रेसका उर्वरभूमि मानिन्छ । जिल्लामा वडा तहदेखि नै अधिवेशन चल्दै जाँदा जिल्लामा समेत वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवा प्यानल नै बनाएर चुनावमा भिड्न थाले ।
रियाका परिवार कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए । जिल्ला अधिवेशनका क्रममा सबै नेता कार्यकर्ता आपसमा कित्ताकाट गर्नुपर्ने अवस्थामा पुग्यो । देउवा र पौडेल प्यानलमा जिल्ला नै विभाजित हुने अवस्था आयो ।
जिल्ला कार्यसमितिका लागि प्यानल बनाउँदा पौडेल पक्षका नेताहरुले उनलाई जिल्ला कार्यसमिति सदस्यमा चुनाव लड्न सुझाए । परिवारले पनि हौसला दियो । तर, रिया चुनाव लडेर नभई सर्वसम्मत हुन चाहिन् । देउवा पक्षका नेताहरुलाई समेत सम्र्पक गरेर आफूलाई आदिवासी जनजातितर्फबाट जिल्ला सदस्य सर्वसम्मत बनाउन आग्रह गरिन् ।
दुई कित्तामा बाँडिएको कांग्रेस राजनीति कसैलाई सर्वसम्मत बनाउने पक्षमा थिएन । वरिष्ठ नेता पौडेल पक्षबाट उनले आदिवासी जनजाति महिला कोटामा जिल्ला सदस्यको उम्मेदवारी दिइन् ।
तनहुँमा कांग्रेस राजनीतिको माहोल सभापति देउवा पक्षमा गएको थियो । किनकी, सभापति जितेका चन्द्रप्रकाश आले नै जीवनभर पौडेल पक्षमा रहेर काम गरेका थिए । जिल्ला सभापतिमा पौडेल पक्षले उम्मेदवार नबनाएपछि आले देउवा क्याम्पमा पुगेर सभापति लडेका थिए । पदाधिकारीमा एक जना सहसचिव मिलन आले बाहेक सबैजना देउवा प्यानलकै आए ।
वरिष्ठ नेता पौडेल प्यानलबाट लडेकी रियालाई पनि चुनाव जित्ने आशा मरिसकेको थियो । सभापति र पदाधिकारीमा देउवा प्यानल आएको देखेर उनले आश मारेकी थिइन् । सदस्यको मतगणना हुँदै जाँदा निर्वाचन समितिले उनलाई जिल्ला सदस्य जितेको जानकारी दियो । उनी अब कांग्रेस तनहुँको जिल्ला सदस्य भइन् ।
कांग्रेस महाधिवेशनका क्रममा यसरी कित्ताकाट हुनु नौलो नभएको उनको भनाइ छ । ‘अहिले पार्टीको चुनावमा मात्र हो यसरी बाँडिएको,’ उनले भनिन्, ‘चुनाव सकएपछि सबैजना एकै ठाउँमा आउनुहुन्छ ।’
क्रियाशील सदस्यता लिएकै वर्ष पार्टीको जिल्ला सदस्य बनेकी रिया राजनीति र कलाकारिता सँगसँगै अघि बढाउने बताइन् । आगामी स्थानीय तहको निर्वाचनमा आफू उठ्नुपर्ने अवस्था आयो भने पछि नहट्ने उनको भनाइ छ । ‘अहिले जिल्ला सदस्य मेरो चाहनाले भन्दा पनि पार्टीले नै उठाएको हो,’ उनले भनिन्, ‘चुनावमा पनि त्यही हुन्छ, पार्टीले उठायो भने त उठ्नै प¥यो नि !’





