बेनी/ म्याग्दीको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले सघाउने भएको छ । नाटाले नेपाल पर्यटन बोर्ड र स्थानीय संघसंस्थाको सहकार्यमा पूर्वाधार विस्तार भइसकेका नयाँ गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक पठाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
म्याग्दीमा रहेका नयाँ पर्यटकीय गन्तब्यको खोजीमा निस्किएको टोलीलाई म्याग्दी उद्योगवाणिज्य संघले गरेको स्वागत कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्ध निर्देशक नवीन खरेलले आन्तरिक तथा विदेशी पर्यटकलाई देखाउन अब पुराना गन्तव्यले मात्रै सम्भव नहुने बताए । सरकारी निकायको लगानीबाट मात्रै पर्यटन क्षेत्रको विकास सम्भव नभएकाले निजी क्षेत्रको सहकार्य आवश्यकता रहेको सुनाए ।
नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिक्देलले म्याग्दीको सदरमुकाम बेनीबजार पर्यटकका लागि चौतारी भएको बताए। ‘कोरोनाको जोखिमले नियमित विदेशी पर्यटकको आगमन सम्भव नभएको अवस्थामा आन्तरिक पर्यटकलाई घुमाउने नयाँ गन्तव्यको विकल्प छैन,’ उनले भने ।
कोभिडका नयाँ भेरियन्टले समेत नेपाली पर्यटन व्यवसायी झस्किएको अवस्थामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्थानीय तहले समेत पर्यटनमा लगानीको वातावरण बनाउनुपर्र्ने पर्यटन व्यवसायीको जोड थियो । म्याग्दी भ्रमणमा रहेको टोली बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) उचाईमा अवस्थित टोड्केमा पुगेको छ ।
वरिपरि लालीगुराँसको जंगल, स्वर्गद्वारीको शाखा आश्रम, मनोरम प्राकृतिक दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले समेत महत्वपूर्ण भएकाले यसले अथाह सम्भावना बोकेको पर्यटन व्यवसायी बताउँछन् ।
भ्रमण टोलीलाई स्वागत गदैं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटनसँग सम्बन्धित सरकारी, निजी तथा व्यावसायिक संघ संस्थाहरुसँग हातेमालो गर्दै पर्यटकीय गतिविधिहरु अघि बढाउनुपर्ने बताए ।उनले गन्तव्यको पहिचानसँगै सुरक्षाको प्रत्याभूति, पूर्वाधारको पर्याप्त सुविधाको सुनिश्चितता भएमा आन्तरिक पर्यटकको आइरो लाग्ने दाबी गरे ।
सरकारी निकायबाट समेत पर्यटनको विकासमा थप गम्भीर हुनुपर्ने म्याग्दीका व्यवसायीले माग गरेका छन् । उवासंघमार्फत कालीपुलमा सञ्चालन गरिएको सूचना केन्द्रबाट जिल्लाभित्रका आकर्षक गन्तव्यहरुको भरपर्दो सूचना प्रवाह भइरहेको छ । टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तव्य बनाउने अभियानमा स्थानीय सरोकारवाला सक्रिय छन् ।





