बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

तीस बर्षमा लाग्यो पोखराको कन्या क्याम्पस

तीस बर्षमा लाग्यो पोखराको कन्या क्याम्पस

अब कन्या नाम हटाउनु पर्छ : प्रदेश प्रमुख


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७८, बिहिबार

पोखरा/ पोखरा ३ नदीपुरमा रहेको कन्या क्याम्पसले विविध कार्यक्रमसहित ३० औँ वार्षिकोत्सव मनाएको छ । गण्डकी प्रदेशको एकमात्र महिला क्याम्पसको रुपमा रहेको क्याम्पसले बुधबार वार्षिकोत्सव सम्पन्न गरेको हो ।
वार्षिकोत्सवकै अवसर पारेर क्याम्पसबाट नेपालकै पहिलो हुन सफल विद्यार्थी तथा क्याम्पसकै आन्तरिक परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मानसमेत प्रदान गरियो । वार्षिकोत्सवकै अवसरमा पोखरा महानगरपालिकाले ५ लाख बराबरको कम्प्युटरसमेत हस्तान्तरण गरेको छ । पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजु र वडा १ की वडाध्यक्ष शारदा पराजुलीले एकसाथ महानगरको तर्फबाट क्याम्पसलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । महानगरले आगामी वर्ष सोही मात्रामा सहयोग गर्ने वडा १ की वडाध्यक्ष शारदा पौडेलले बताइन् । वडा ३ का वडाध्यक्ष प्रजुले वडाको तर्फबाट आवश्यक सहयोग गर्न नसक्दा लज्जित भएको बताए । कार्यक्रममा पूर्व जलस्रोतमन्त्री हरि पाण्डेले श्रीमतीका आमाबुबा र आफ्ना हजुरबुबा–हजुरआमाको सम्झनामा ६ लाखको अक्षय कोष स्थापना गरे । उनले आफुलाई सफल व्यवसायी बनाउनुमा समाजको ठूलो हात रहेको भन्दै समाजप्रति हरेक नागरिक समाजप्रति उत्तरदायी हनुपर्नेमा जोड दिए ।

कार्यक्रमा छात्रा कल्याणकारी समिति संयोजक ममता शाही,क्याम्पस पा्रध्यापक संघका सभापति क्षेत्रबहादुर क्षेत्रीलगायतले आफ्नो भनाइ राखेका थिए । विआइएमतर्फ नेपाल टप गरेकी निशा मुसलमानलाई समेत सम्मान गरिएको थियो । यस्तै क्याम्पसले निरन्तर २० वर्ष सेवामा समर्पित रहेको भन्दै क्याम्पस सहायक प्रमुख चित्रबहादुर श्रेष्ठ र प्राध्यापिका राधा शर्मालाई सम्मान गरेको छ । सोही अवसरमा विभिन्न छात्रावृति समेत प्रदान गरिएको थियो भने क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले वार्षिक प्रतिवेदन सार्वजानिक गरेका थिए । उनले क्याम्पसले विगतमा भन्दा शैक्षिक गुणस्तरमा प्रगति गरेको बताए ।

अब कन्या नाम हटाउनु पर्छ : प्रदेश प्रमुख

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अब कन्या क्याम्पस भनेर नाम राख्न नहुने बताएका छन् । कन्या क्याम्पसको वार्षिकोत्सव समारोहमा बोल्दै गुरुङले २१ औँ शताब्दीमा समेत कन्या नाम राख्दा छैटौ–सातौं शताब्दीजस्तो देखिने भएकाले नाम फेर्नुपर्ने बताए । ‘२१ औँ शताब्दीमा आएर पनि छैटौँ–सातौँ शताब्दीकै नाम राखेर हुँदैन । कन्या भनेको अभिभावकको संरक्षणमा रहेका रजस्वलासमेत नभएका नानीहरुलाई भनिन्छ । कन्या नामले अझै पनि पुरुष प्रधान समाजको घेरामा रहेकोजस्तो देखियो त्यसैले अब यसलाई परिर्वतन गर्नका लागि तपाईँहरु छलफल गर्नुहोस्,मन्थन गर्नुहोस’,उनले भने,‘अब पनि पुरानै तरिकाले जाने होइन सृजनात्मक तरिकाले अघि बढ्ने किसिमको हुनु पर्छ, नाम पनि उही किसिमको हुनुपर्दछ ।’प्रदेश प्रमुख गुरुङले सामुदायिक क्याम्पसलाई टिकिराख्न निकै गाह्रो हुँदै गएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->