बेनी / बेनी नगरपालिका–३, भकिम्लीको कोप्रेभीरको जंगलमा एक पुरुषको शव फेला परेको छ । गएको कात्तिक २० गते भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किंदै गरेका बेनी नगर पालिका १, अर्जमका भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
भीरमा अड्किएको अवस्थामा भेटिएको शव कपडाको माध्यमबाट पहिचान भएको खोजीकार्यमा संलग्न विनोद प्रधानले जानकारी दिए । मृतकले लगाएको कपडा र हुलिया मिलेपछि प्रहरी निरीक्षकवीरेन्द्रराज गुरूङ, मृतकका आफन्त र स्थानीयबासी सहितको टोली घटनास्थलमा पुगेको थियो । तिहारको भाइटीकाको दिनमा फर्किने क्रममा मृतक श्रेष्ठमाथि आक्रमण गरी भीरबाट खसालेको हुनसक्ने अनुमान स्थानीयले गरेपनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मृतकको शवको केही भाग आसपासका क्षेत्रमा भेटिएकाले जंगली जनावरले खाएजस्तो देखिएको प्रत्यक्षदर्शी कर्ण प्रधानले बताए । मृतक श्रेष्ठ घर फर्किने क्रममा सम्पर्कविहीन भएको स्थान आसपासको भीरबाट सीधै तल शव भेटिएकाले घटना शंकास्पद देखिएको स्थानीयको भनाइ छ ।
शवलाई प्रहरीले पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने जनाइएको छ । बेपत्ता श्रेष्ठको खोजीकार्यका लागि स्थानीयको सक्रियतामा ज्यामरुककोट र भकिम्लीको सीमानामा पर्ने सौतासौती भन्ने ठाउँमा ड्रोनको समेत प्रयोग गरेका थिए । बेपत्ता श्रेष्ठको मानसिक अवस्था समेत समान्य थियो भने परिवारमा कुनै समस्या नभएकाले घटना नियोजित भएको परिवारको आरोप छ





