‘दसैंतिहारको समयमा सबैभन्दा बढी विद्यार्थीहरु आए । त्यसपछि विभिन्न ठूला राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । अहिले लोकसेवा परीक्षामा सहभागी हुन आउने परीक्षार्थीको संख्या पनि ठूलो छ ।’
पोखरा/ कोरोना महामारीका कारण लामो समयसम्म थलिएको पोखराको पर्यटनमा यतिबेला केही चहलपहल बढेको छ । महामारी केही शान्त भएसँगै आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको छ ।
दुई ठूला चाड दसैंतिहार लगत्तै भइरहेका विभिन्न राजनीतिक दलका अधिवेशन र लोकसेवा आयोगका परीक्षाले गर्दासमेत पोखराका आन्तरिक पर्यटक बढेको पर्यटन व्यवसायी बढाउँछन् । अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र लोकसेवाको परीक्षा दिन आएका करिब २० हजार परीक्षार्थीका कारण पोखरेली पर्यटनमा टेवा पुगेको हो ।
महामारी उच्च बिन्दुमा पुगेकोबेला शून्यमा पुगेको पोखराको पर्यटनमा फेरि चाँदीको घेरा देखिन थालेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् । ‘दसैंतिहारको समयमा सबैभन्दा बढी विद्यार्थीहरु आए । त्यसपछि विभिन्न राजनीतिक दलका कार्यक्रम भए,’ उनले भने, ‘अहिले लोकसेवा परीक्षामा सहभागी हुन आउने परीक्षार्थीको संख्या पनि ठूलो छ ।’
विदेशी राष्ट्रका पर्यटकको संख्या अझै नगन्य नै रहे पनि भारतीय पर्यटकको संख्यामा वृद्धि भएको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ‘ठूलो संख्यामा भारतीयहरु अहिले आफ्नै गाडी लिएर आउन थालेका छन् । यसले लामो समय शिथिल बनेको पोखराको पर्यटन व्यवसायीलाई आशावादी तुल्याएको छ,’ उनले भने ।
पोखराको करिब ६० प्रतिशत साना होटलमा अकुपेन्सी रहेको सुवेदीले जानकारी दिए । ‘साना होटलमा पाहुनाको राम्रो उपस्थिति छ । तर, ठूला होटलमा १५, १६ प्रतिशत पनि अकुपेन्सी छैन,’ उनले भने । उच्च तहका पाहुना नआउँदा
ठूला होटल खाली हुनु परेको उनको भनाइ थियो ।
सुवेदीका अनुसार कोभिड महामारीको दोस्रो चरणको लकडाउन सकिएसँगै भारतीय पर्यटकको आगमनमा वृद्धि भएको हो । तर, अहिले पुनः ओमिक्रोन भेरियन्टको त्रास बढेसँगै नाकामा कडाइ गरिँदा उनीहरुको संख्यामा केही कमी भएको छ । अहिले कुल पर्यटकमा ५ देखि ७ प्रतिशतसम्म भारतीय नै रहेको उनले जानकारी दिए ।
भारतीय पर्यटकहरु समूहमा ठूला बस लिएर आउने क्रम सुरु हुनै लाग्दा ओमिक्रोन त्रास बढेसँगै फेरि घटेको सुवेदी बताउँछन् । ‘पहिले खोपकार्डमात्रै देखाए पुग्थ्यो । तर, अहिले खोपले मात्रै नभएर नाकामा फेरि पिसिआर अनिवार्य गरिँदा कति पर्यटक नाकाबाटै फर्किएको अवस्था छ,’ हान अध्यक्ष सुवेदीले भने, ‘त्यति धेरै कडाइ नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।’
दोस्रो चरणको लकडाउनसँगै आशावादी बनेका पोखराका पर्यटन व्यवसायी कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै फेरि सशंकित बनेका छन् । ‘अहिले सिंगो पर्यटन अर्थतन्त्र आशावादी बनिरहेकोबेला फेरि अफ्रिकी मुलुकमा भेटिएको नयाँ भेरिन्टले विश्व नै ठप्प पार्ने हो कि भन्ने जनमानसमा चासो बढेको छ,’ रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) कास्की अध्यक्ष लक्ष्मण बरालले भने । तर, स्वास्थ्यको पूर्ण मापदण्ड पालना गरेर ‘पोखरा खुल्लै छ’ भन्ने सन्देश दिन आफूहरु तयार रहेको पर्यटन व्यवसायीको भनाइ छ ।
रेबान सडक महोत्सव पुस १५ देखि
रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान)ले आफ्नो २३ औं संस्करणको सडक महोत्सव पुस १५ देखि गर्ने भएको छ । ३ दिनसम्म चल्ने उक्त महोत्सव रेबानले अंग्रेजी नयाँ वर्षलाई लक्ष्य गरी सुरु गरिएको हो ।
सबै संस्करणमा ५ दिनसम्म गर्दै महोत्सव गर्दै आइरहेको रेबानले अघिल्लो वर्षदेखि ३ दिनमा झारेको थियो । ‘गत वर्ष पनि कोभिड महामारीका कारण गर्ने कि नगर्ने भन्ने दोधारमा थियो । त्यसै बाबजुद पनि ३ दिनमा ग¥यौं । अहिले पनि
महामारी नसकिएकाले ३ दिननै गर्ने भन्ने हो,’ महोत्सवबारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मण बरालले भने ।
महोत्सवले विदेशी पर्यटकमात्रै नभएर स्वदेशी पर्यटकलाई समेत पोखरामा निमन्त्रणा गर्न राम्रो सन्देश जाने अध्यक्ष बरालले विश्वास व्यक्त गरे । ३ किलोमिटर क्षेत्रमा चल्ने उनले महोत्सवमा स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाइने दाबी गरे ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ २ दशकभन्दा अघिबाट हुँदै आएको सडक महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित खाना प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा दौड, वेटर दौड लगायत कार्यक्रम समावेश गरिएको रेबानले जनाएको छ ।
|
महोत्सवमा सहभागी हुन आउनेहरुका लागि रात्रीकालीन बस सेवासमेत चलाइने रेबान अध्यक्ष बरालले जानकारी दिएका छन् । महोत्सव अवधिभर अघिल्ला संस्करणमा झैं मूल्यमा मनोमानी यस वर्ष नहुने आयोजकले जनाएको छ ।
मूल्यमा मनोमानी हुन नदिन अनुगमन समिति नै बनाइएको र मेनुभन्दा बाहिरको मूल्य तोकिए कारवाही गरिने पोखरा पर्यटन परिषद् अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । ‘योबेला धेरै ठाउँबाट धेरै पाहुना आउनुहुन्छ । खानामात्रै नभएर होटलहरुमा पनि उस्तै मनोमानी हुन्छ । यस वर्ष त्यसलाई कम गर्न अनुगमन समिति नै बनाएर अघि बढेका छौं,’ उनले भने ।





