बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

मुख्य भवन ‘फेल’, महाशाखा ‘पास’ !

मुख्य भवन ‘फेल’, महाशाखा ‘पास’ !

२०३४ सालमा पोखरा रानीपौवाबाट न्युरोड सरेको हालको महानगर भवन साँघुरोमात्रै नभएर जीर्णसमेत भइसकेको छ ।


  • विकास रोकामगर
  • मंसिर २८ २०७८, मंगलबार

पोखरा/ पोखरा महानगरको प्रशासनिक भवन सोमबार शिलान्यास गरिएको छ । पोखरा ८, नयाँबजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा महानगरको नयाँ प्रशासनिक भवन बन्ने भएको हो । भवनको शिलान्यास कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् ।

महानगरले २०७७ भदौमा नयाँबजार साविक दलकल कार्यालय रहेको जग्गामा प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो । उक्त योजनाबमोजिम महानगरले प्रशासनिक भवन बनाउन चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

असोज १० गते महानगरले विराटनगरको भूमिबुद्ध, ओमबुद्ध जेभीसँग भ्याटबाहेक १२ करोड ५७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । ‘बेसमेन्टसहित यो भवन ५ तलाको हुनेछ । सम्झौता मितिबाट १८ महिनामा सक्ने गरी काम सुरु भएको छ,’ महानगरका इन्जिनियर शिशिर अर्यालले भने । सुविधासम्पन्न पार्किङसहितको भवन बन्न लागेको महानगरले जनाएको छ ।
पोखरा महानगरका विभिन्न ९ महाशाखा छन् । तर, महानगर भवन साँघुरो भएकै कारण महाशाखाहरु छिन्नभिन्न छन् । कुनै सिर्जनाचोक त कुनै विरौटा, ड्यामसाइड क्षेत्रमा महाशाखा भएकै कारण सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

नयाँ प्रशासनिक भवन भएपछि छरिएर रहेका महाशाखा एक ठाउँमा हुने र यसले सेवाग्राहीलाई समेत सजिलो हुने विश्वास महानगरको छ । ‘अहिले भवन पुरानो र एकदमै साँघुरो पनि छ । नयाँ भवन बनेपछि सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्नुहुन्छ,’ महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले भवन शिलान्यास गर्दै भनिन् ।

भवन शिलान्यास भएको हालको उक्त जग्गा तत्कालीन समयमा महानगरले दमकलजन्य अत्यावश्यक सवारीसाधन राख्दै आएको थियो । तर, पछि ती सवारीसाधन महानगरले पोखरा ८, शान्तिवनमा राखेको छ ।
महानगर भवन ‘फेल’, प्रशासनिक भवन ‘पास’ !

पोखरा ८, न्युरोडको केन्द्रमा रहेको पोखरा महानगरको भवन साँघुरो छ । २०३४ सालमा पोखरा रानीपौवाबाट न्युरोड सरेको हालको महानगर भवन साँघुरोमात्रै नभएर जीर्णसमेत भइसकेको छ । २०५२ सालमा उपमहानगर र ७३ सालमा साविक लेखनाथ र पोखरा उपमहानगर मिलाएर महानगर बनेको थियो ।

भौगोलिक संरचनाका हिसाबले पोखरा देशकै ठूलो महानगर भएपनि मुख्य प्रशासकीय भवन नै साँघुरो भएपछि सेवाग्राहीले एकै ठाउँबाट हुने काममा समेत सास्ती खेप्नुपर्ने बाध्यता छ । महानगरका विभिन्न महाशाखा खोज्नै सेवाग्राहीलाई ‘महाभारत’ हुने गरेको छ ।

सोमबार शिलान्यास भएको प्रशासनिक भवनभन्दा प्रमुख प्रमुख प्रशासकीय भवन महानगरको पहिलो योजना थियो । ०७४ सालमा स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएसँगै महानगरको पहिलो कार्यपालिका बैठकले नै नयाँ प्रशासकीय भवन बनाउने निर्णय गरेको थियो ।

नयाँ प्रशासकीय भवन बनाउनका लागि जग्गा खोज्न पोखार १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाएको थियो । समितिले पोखरा १२, माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गरेको थियो ।

तर, उक्त भवन महानगरको आफ्नो नाममा नभएपछि निर्णय भएको लामो समयसम्म योजना अगाडि बढ्न सकेको छैन । ‘पशु सेवाको जग्गा आफ्नो स्वामित्वमा ल्याउन महानगरले पहल गरे पनि प्रदेश र संघ सरकारले फाइल ‘अड्काएर’ राख्दा अब त्यो कहिले बन्छ, टुंगो छैन,’ सूचना अधिकारी पौडेल भन्छन् ।

महानगरको मुख्य भवन बन्नेबारे टुंगो नलागेपछि प्रशासनिक भवनको योजना अघि सारेको हो । तर, नयाँ प्रशासनिक भवन बनाउन पनि स्थानीयले विरोध गरेका थिए । सोमबार समेत केही स्थानीय अवरोध गरेका थिए । तर, पछि प्रहरी प्रशासनले समन्वय गरिदिएपछि भवन शिलान्यास गरिएको थियो ।

जनघनत्व बढी भएको ठाउँमा खाली चौर राख्नुपर्ने र त्यहाँ भवन नभई पार्क बनाउनुपर्ने स्थानीयको माग छ । स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा भवन निर्माण सम्झौता गरेको भन्दै असोज ११ गते उनीहरुले नाराबाजीसहित महानगर घेराउसमेत गरेका थिए ।

महानगरले भने साविक दमकल कार्यालय रहेको ठाउँभन्दा अर्को उपयुक्त ठाउँ नभएको र छरिएर रहेका महाशाखालाई एकीकृत गरेर सेवा दिन पनि उक्त ठाउँ नै उत्तम रहेको बताउँदै आएको थियो । ‘अरु ठाउँ माग्दा पनि नपाइने र आफ्नै जग्गामा आफ्नै भवन बनाउन पनि विरोध भइरहने हो भने महानगर झन् अव्यवस्थित हुन्छ,’ महानगरका सूचना अधिकारी पौडेलले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->